• २०८३ असार १७
  • 2026 July 01, Wednesday

एमालेभित्र मतभेद: विद्या भण्डारी पक्षको बेग्लै आवाज

काठमाडौँ । नेकपा (एमाले) को विधान महाधिवेशनको पूर्वसन्ध्यामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षले चार विषयमा फरक मत राखेका छन्।

स्थायी समिति सदस्य कर्ण थापाले बिहीबार एमाले केन्द्रीय कार्यालयमा फरक मत दर्ता गराएका हुन्। थापा पूर्वराष्ट्रपति भण्डारीनिकट छन्।एमाले केन्द्रीय कमिटीले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन रोक्ने निर्णय गरेको थियो।

भण्डारीलाई पार्टी राजनीतिमा फर्कन रोक्ने एमाले केन्द्रीय कमिटीको निर्णयमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवालीले पनि फरक मत र अभिव्यक्ति दिने गरेका छन्।

एमालेको दोस्रो विधान महाधिवेशन शुक्रबारदेखि ललितपुरको गोदावरीमा सुरु हुँदै छ। उक्त विधान महाधिवेशनमा फरक मत राख्न पनि भण्डारी पक्षले पार्टी कार्यालयमा आजै दस्ताबेज दर्ता गराएका छन्।