• २०८३ असार २७
  • 2026 July 11, Saturday

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति डिजिटल मिडिया एलाइन्स नेपालको आपत्ति

  • २०८२ भदौ १९, बिहीबार १८:४४
मेटा, युट्युब लगायतका २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णयप्रति डिजिटल मिडिया एलाइन्स नेपालले गम्भीर आपत्ति जनाएको छ । एलाइन्सले आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालयको यस कदमले सञ्चारको बहुआयामिकता र डिजिटल युगमा नागरिकको सूचनाको पहुँचलाई सीमित पार्ने उल्लेख गरेको हो ।
“यस कदमले सञ्चारका प्लेटफर्महरूमा पहुँच पाउने नागरिकको अधिकार हननसँगै अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकारमा समेत सिधा प्रहार भएको छ । साथै, यसले डिजिटल मिडियालाई नै माध्यम बनाएर सूचना प्रवाह गरिरहेका सञ्चार माध्यमहरू, पत्रकार, सञ्चारकर्मी र आम सर्वसाधारणको अधिकारमा प्रत्यक्ष असर गर्ने देखिन्छ,” एलाइन्सको विज्ञप्तिमा भनिएको छ ।
एलाइन्सले मन्त्रालयको यस कदमलाई अपरिपक्वताको संज्ञा दिँदै तत्काल फिर्ता लिन समेत माग गरेको छ ।
“हतारमा लिइएको यस अपरिपक्व निर्णय तत्काल फिर्ता लिई सम्बन्धित पक्षहरूसँग प्रभावकारी संवाद गरी समाधान खोज्न डिजिटल मिडिया एलाइन्स नेपाल सरकारसँग माग गर्दछ। हामी आशा गर्छौँ कि सामाजिक सञ्जाल बन्द गर्नुको सट्टा सरकारले सामाजिक सञ्जाललाई प्रवर्द्धन गर्ने किसिमको नियमनकारी नीति अपनाउने छ र दिगो संवादको माध्यमबाट समस्याको समाधान गर्नेछ,” एलाइन्सले भनेको छ ।
  • २०८२ भदौ १९, बिहीबार १८:४४