• २०८३ असार १८
  • 2026 July 02, Thursday

‘१७ हजारको नाममा माओवादीमाथि षड्यन्त्र जारी’ – प्रचण्ड

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘१७ हजार’ सहिदको नाममा आफूहरूलाई अझै पनि बदनाम गर्ने प्रयास भइरहेको बताएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा अध्यक्ष ‘प्रचण्ड’ले शहीदका सपना पूरा गर्ने जिम्मेवारीमा आफूहरू पूर्णरूपमा सफल नभएको स्वीकार गर्दै त्यसैलाई महसुस गरेर हाल शहीद परिवार, बेपत्ता परिवार र आफ्नै वर्गतर्फ फर्किएर काम थालेको बताए ।

“१७ हजार सहिदको कुरा गरेर हामीलाई बदनाम गर्ने क्रम अझै रोकिएको छैन,” उनले भने, “हामीले सहिदका सपना जोगाउन पर्याप्त काम गर्न सकिएन भन्ने स्वीकारोक्ति गर्दै अहिले फेरि वर्गीय पक्षमा फर्किएको छु ।”

उनले सहिदप्रति उचित सम्मान व्यक्त गर्न आफ्नो पार्टीबाट कमजोरी भएको समेत स्वीकार गरे । यद्यपि प्रतिक्रियावादी षड्यन्त्रविरुद्ध शहीदका सपना सम्झँदै अघि बढ्ने र परिवर्तनको मार्गमा फेरि नयाँ आन्दोलन तथा विद्रोह जन्मिने उनले दाबी गरे ।