• २०८३ असार १८
  • 2026 July 02, Thursday

कुलिङ पिरियड हेरफेर प्रकरणमा छानबिन समिति सक्रिय, बैठक पुनः सुरु

काठमाडौँ । नेपाली काँग्रेस र नेकपा (एमाले) का प्रमुख सचेतकहरूसँग छलफल गरेपछि कुलिङ पिरियडमा भएको हेरफेरबारे छानबिन गर्न गठित समितिको बैठक पुनः सुरु भएको छ।

काँग्रेस सांसद जीवन परियारको संयोजकत्वमा रहेको छानबिन समितिले छानबिनलाई अन्तिम रूप दिँदै प्रतिवेदन पेस गर्ने तयारी गरेको हो। समितिलाई दिएको म्याद आज सकिँदै छ। सुरूमा २१ र पछि ७ दिन म्याद समितिलाई दिइएको थियो।

समितिका सत्ता पक्षीय सांसदहरूले आज दिउँसो काँग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमाले मुख्य सचेतक महेश बर्तौलासँग कुराकानी गरेका हुन्। बर्तौलाको कार्यकक्षमा कुराकानी भएको थियो।

यसअघि आइतबार बिहान पनि समितिका सांसदहरूबीच कुराकानी भएको थियो। दिउँसो पनि बैठक राखिएकोमा सत्तापक्ष सांसदहरू उपस्थित थिएनन् भने प्रतिपक्षी सांसदहरू कुरेर बसेका थिए।

समितिमा नेपाली काँग्रेसबाट सांसद जीवन परियार, सुशीला थिङ, नेकपा (एमाले) बाट नारायण आचार्य र ईश्वरी घर्ती तथा प्रतिपक्षी दल माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की छन्।

कुलिङ पिरियडमा कर्मचारीलाई अवकाश वा राजीनामाको दुई वर्षसम्म नियुक्ति गर्न नमिल्ने व्यवस्था राखे पनि प्रतिनिधि सभाबाट विधेयक पारित हुँदा उक्त विषयमा हेरफेर भएको पाइएको थियो। त्यसपछि सभामुख देवराज घिमिरेले छानबिन समिति बनाएका थिए।