• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

जनमत पार्टी : मोर्चा साझा एजेन्डा मात्र, चुनावी तालमेल हुँदैन

काठमाडौं । सङ्घीय लोकतान्त्रिक मोर्चाबाट सिके राउत नेतृत्वको जनमत पार्टी अलग भएको छ। रुपन्देही ३ को उपनिर्वाचनमा मोर्चामा आबद्ध ६ दलले साझा उम्मेदवार तय गर्ने सहमति भएपनि जनमत अलग भएको हो।

जनमत पार्टीले मेचीदेखि महाकालीसम्म आफ्नै उम्मेदवार उठाउने रणनीति अन्तर्गत रुपन्देही–३ मा पनि आफ्नै उम्मेदवार उठाउने अध्यक्ष सिके राउतले बताएका छन्।

उनले पार्टी पङ्क्तिलाई भ्रममा नपर्न आग्रह गर्दै उनले भनेका छन्, ‘यसअगाडिको निर्वाचनमा अरू पार्टीहरू काँग्रेस वा एमालेको गठबन्धनमा सामेल भई चुनाव लड्दा जनमत पार्टी एक्लै नै चुनाव लड्दै आएको छ र गठबन्धन गरेको पूर्व अनुभव छैन।’

सङ्घीय लोकतान्त्रिक मोर्चासँग संविधान संशोधन र अधिकार तथा पहिचानको आन्दोलनमा खडा भएको बताए। उनले थपेका छन्, ‘मोर्चा लुज एलायन्सको रूपमा त्यसका लागि नै गठन भएको थियो र यो चुनावी मोर्चा होइन भनेर हामी गठन हुनु अगाडि र घोषणा हुँदा देखि नै स्पष्ट थियौँ, मोर्चालाई हाम्रो सदैव शुभकामना छ।’