• २०८३ असार १८
  • 2026 July 02, Thursday

असन्तुष्टहरूलाई बेवास्ता गर्दै राप्रपाको बत्तिसपुतली भेला

काठमाडौँ। पार्टीभित्र विवाद र अन्तरद्वन्द्व चर्किँदै गएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफूलाई मजबुत पार्न आन्तरिक कसरत सुरु गरेका छन् ।उनले आज काठमाडौँको एक होटलमा एउटा अनौपचारिक बैठक राखेका छन्, जसमा असन्तुष्ट पक्षका नेताहरूलाई खबर गरिएको छैन ।

लिङदेनले पार्टीमा एकलौटी गर्न खोजेको भन्दै महामन्त्री डा‍‍. धवलशम्शेर राणा नेतृत्वको समूहले प्रतिवाद जारी राखेपछि संस्थापन पक्षको रणनीति तय गर्न भेला बोलाइएको हो ।

संस्थापन पक्षका एक नेताका अनुसार काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरूलाई भेलामा बोलाइएको छ । खुलेर डा. राणाको गुटमा लागेकाहरूलाई भने खबर गरिएको छैन ।

ती नेताले भने, ‘निर्वाचन आयोग धाउने र नेतृत्वविरुद्ध वक्तव्यबाजी गरिरहेका १०–१५ जनाबाहेक सबैलाई खबर गरिएको छ ।’आज दिउसो ३ बजेबाट भेला सुरु हुने बताइएको छ ।

अध्यक्ष लिङदेनले संस्थापन इतर पक्षका नेताहरूलाई छानिछानी कारवाही गर्न थालेपछि राप्रपाभित्र अन्तरद्वन्द्व चर्किएको छ । इतर पक्षले सामूहिकरुपमा नै अध्यक्षविरुद्ध जेहाद छेडिरहेका छन् । तीन दिनअघि डा. राणाको नेतृत्वमा हात्तिसारमा असन्तुष्ट पक्षको भेला आयोजना गरिएको थियो, जसमा केही पदाधिकारीसहित ७० जना सहभागी थिए ।