• २०८३ असार १८
  • 2026 July 02, Thursday

नगर प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले शुक्रबार कल्याणपुर नगरपालिका, सिरहाका नगर प्रमुख राम पुकार साहविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

आयोगका अनुसार वडा नं. ६ मा नाला निर्माण योजना सम्पन्न भई भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग बिचौलिया मार्फत घुस रकम माग गरिएको भन्ने सूचना एवं उजुरीको आधारमा आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले साहलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा साहले पक्की नाला निर्माण कार्य सम्पन्न भएपछि भुक्तानी दिने उद्देश्यले सेवाग्राहीसँग घुस मागी लिएको पुष्टि भएको आयोगले जनाएको छ। यस आधारमा साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो एक लाख रुपैयाँ कायम गरी, सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ख) अनुसार कैद सजाय र दफा ३ को उपदफा (१) अनुसार बिगो बराबरको जरिवाना माग दाबी गर्दै आज विशेष अदालतमा आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।