• २०८३ असार १७
  • 2026 July 01, Wednesday

रास्वपाले सुरु गर्‍यो रुपन्देही–३ का उम्मेदवार चयन प्रक्रिया, आकांक्षीसँग परामर्श जारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी कात्तिक १७ गते हुने रुपन्देही क्षेत्र नं-३ को उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियाको अन्तिम चरण सुरु गरेको छ।

पार्टीले सार्वजनिक गरेको छनोट टाइमलाइन अनुसार, आज (आइतबार) केन्द्रीय कार्यालयमा आकांक्षी उम्मेदवारहरूसँग छलफल कार्यक्रम आयोजना गरिएको छ।

रास्वपाले काठमाडौँको वनस्थलीस्थित केन्द्रीय कार्यालय ‘घण्टी घर’ मा दिउँसो १ बजेदेखि आकांक्षीहरूसँग छलफल गरिरहेको हो। छलफललाई उम्मेदवारको अन्तिम टुंगो लगाउने महत्त्वपूर्ण चरणका रूपमा हेरिएको छ।

उक्त क्षेत्रबाट निर्वाचित सांसद तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपक बोहोराको निधनपछि सो क्षेत्र रिक्त भएको थियो। जसका लागि निर्वाचन आयोगले कात्तिक १७ गते उपनिर्वाचनको मिति तोकेको छ।

२०७९ को आम निर्वाचनमा यस क्षेत्रबाट राप्रपाका नेता दीपक बोहोरा विजयी हुँदा रास्वपाका उम्मेदवार तेस्रो स्थानमा थिए। यस पटकको उपनिर्वाचनमा व्यवस्थित छनोट प्रक्रियामार्फत बलियो उम्मेदवार उठाएर नतिजा आफ्नो पक्षमा पार्ने रणनीति रास्वपाले लिएको देखिन्छ। पार्टीले छिट्टै नै आफ्नो आधिकारिक उम्मेदवारको घोषणा गर्ने जनाएको छ।