• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

कोशी प्रदेशमा थारु भाषा सरकारी कामकाजमा समावेश गर्न माग

काठमाडौँ। माओवादी केन्द्रका सांसद अमनलाल मोदीले कोशी प्रदेशमा थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सभामुखमार्फत कोशी प्रदेशमा थारु भाषालाई छुटाइएको भन्दै सरकारी कामकाजमा लागु गर्न माग गरेका हुन्।

‘कोशी प्रदेशले भाषा सम्बन्धी विधेयक ल्यायो । तर थारु भाषालाई सरकारी कामकाजको भाषाको रूपमा छुटाएको छ,’ उनले भने, ‘यो देशमा थारु समुदाय जनसंख्याका हिसाबले चौथो रूपमा पर्छ मेचीदेखि महाकालीसम्म। कोशी प्रदेशको कुरा गर्ने हो भने त अझ झापा, मोरङ, सुनसरी र उदयपुरमा बाहुल्य भाषाको रूपमा थारु समुदाय छन्।

तराईमा रहेका जल, जंगल र जमिनमा थारुको अन्तरसम्बन्ध छ। हिजो उनीहरूको सम्बन्ध खोसियो, खोसियो। आज भाषा, संस्कृति पनि खोसिन लागेको छ। म सभामुखमार्फत कोशी प्रदेशको ध्यानाकर्षण गराउन चाहन्छु।’

उनले सरकारी कामकाजको भाषा बनाउन माग गर्दै थारु समुदाय सशक्त रूपमा आन्दोलनमा उत्रिएको भन्दै सभामुखलाई पहल गरिदिन आग्रह गरे । उनले भने, ‘अहिले थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन कोशी प्रदेशमा रहेका थारु समुदाय सडक आन्दोलनमा उत्रिइरहेका छन्। त्यसकारण म सभामुख मार्फत कोशी प्रदेशको ध्यानाकर्षण गराउन चाहन्छु।’

यस्तै उनले ग्रामथान गाउँपालिको नेताचोकदेखि पूर्वको केरोनसम्मको बाटो (ठूलो नहर), पश्चिममा खनारसम्मको बाटो हिड्‍ने स्थितिमा नरहेको भन्दै त्यसतर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।