
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सोमबार कोशी प्रदेशको राजधानी विराटनगर जाने भएकी छन्। उनका सचिवालयका अनुसार उनले उद्घोष दैनिक को २१ औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुने कार्यक्रम छ।
भण्डारी बिहान ११:१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगर जाने तयारीमा छन्। माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट प्रेस संगठनसँग आवद्ध कोशी अध्यक्ष पत्रकार बन्धु पोखरेलको व्यवस्थापनमा प्रकाशित हुने पत्रिका उद्घोषको वार्षिकोत्सवमा भण्डारीको सहभागिता रहने छ।
कार्यक्रमसँगै उनले विराटनगरमा विभिन्न राजनीतिक भेटघाट गर्ने पनि तय भएको छ।
हालै मात्र एमाले केन्द्रीय कमिटीले उनलाई सक्रिय राजनीतिमा फर्कन रोक लगाउने निर्णय गरेको थियो। त्यसविरुद्ध भण्डारीले पूर्वउपाध्यक्षको हैसियतमा विज्ञप्ति जारी गर्दै असन्तुष्टि जनाएकी थिइन्। साथै, उनले थापागाउँमा नयाँ कार्यालय सञ्चालन गर्न घर भाडामा लिएर तयारी पनि थालेकी छन्।