• २०८३ असार १७
  • 2026 July 01, Wednesday

उपसभामुख हटाउने प्रस्तावमा हामी साथ दिँदैनौंः भानुभक्त जोशी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वमन्त्री भानुभक्त जोशीले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानालाई हटाउने सन्दर्भमा पार्टीको समर्थन नरहने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेस–एमालेले एक/डेढ वर्ष अगाडिको कुरा उठाएर उपसभामुख रानालाई चर्चामा ल्याएको बताए । उनले उपसभामुख रानालाई हटाउने विषयमा आफ्नो व्यक्तिगत र पार्टीगत रुपमा कुनै समर्थन नरहने बताए ।

‘बेला न कुबेला उपसभामुखलाई चर्चामा ल्याइयो । यो कुरा हाम्रो पार्टीको कुनै समर्थन रहने छैन । एक/डेढ वर्ष अगाडिको विषयलाई उठाएर सामाजिक अभियन्ताको रुपमा रहेको एउटा सक्षम महिलालाई जसरी उहाँहरुले जे उद्देश्यका साथ उहाँहरुले चर्चामा ल्याउनुभएको छ । त्यसमा व्यक्तित ढंगले मेरो समर्थन छैन । पार्टीको पनि समर्थन रहने छैन । उहाँलाई हटाउने बारेमा अहिले बेतुकको कुरा हो,’– उनले भने ।

उपसभामुख रानालाई पदमुक्त गराउन नेपाली कांग्रेस र एमालेले आ–आफ्ना दलका सांसदहरुको हस्ताक्षर संकलन गरेका छन् । नेपालको संविधानको धारा ९१ (६) (ग) ले ‘पदअनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधिसभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा’ सभामुख वा उपसभामुख पदमुक्त हुने व्यवस्था गरेको छ ।