
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही– ३ का उम्मेदवारसँगको पत्रकार भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम स्थगित गरेका छ।
रास्वपाले आज दिउँसो २ बजे अन्तर्क्रियाको लागि पार्टीको केन्द्रीय कार्यालयमा पत्रकारहरूलाई बोलाएको थियो। यद्यपि, अचानक कार्यक्रम स्थगित भएको सूचना सार्वजनिक भएको छ।
रास्वपाले आइतबार डा. लेखजंग थापालाई रुपन्देही– ३ को उपचुनावका लागि उम्मेदवार बनाउने घोषणा गरेका थियो। तर, उनी घोषणा भएलगत्तै विवादमा तानिएका छन्।
थापामाथि बहुविवाहको समेत आरोप लागेको छ। नाउपाकाे तर्फबाट लुम्बिनी प्रदेश याेजना आयाेगकाे सदस्य भएकी नुमा शर्मा उनकी दाेस्राे श्रीमती हुन्। उनले पहिलो श्रीमतीसँगको सम्बन्ध कानुनी रूपमै अलग भएको भनिए पनि हालसम्म दुवै श्रीमतीसँगै रहेको खुलेको छ।
यसैगरी, रास्वपाकाे आकांक्षी उम्मेदवारहरूको बैठकमा मोबाइल निषेध हुँदा पनि थापाले क्यामेराजडित चस्मा प्रयोग गरी बैठकको अडियो–भिडिओ रेकर्ड गरेको उजुरी उठाइएको छ। ८ जना आकांक्षीले पार्टीलाई लिखित उजुरी दिएका छन्, जसमा अनुशासन तोड्ने र गोपनीयता भङ्ग गर्ने आरोप लगाइएको छ। यसको सम्बन्धमा अझै कुनै औपचारिक छानबिन भएको छैन।