यस्तो देखियो चीनको भव्य सैन्य परेड (भिडियो)

जापानीहरूले गरेको आक्रमणमा विजय पाएको दिनको स्मरणमा चीनले भव्य समारोह आयोजना गरेको छ । ८०औँ यस विजयोत्सव कार्यक्रम बेइजिङको तियानआनमेन स्क्वायरमा बुधबार बिहान गरिएको हो ।

समारोहमा चीनका राष्ट्रपति सी जिनपिङका अगाडि हजारौँ सैनिकहरूले परेड गरेका छन्। परेडमा सैनिकहरूले एकै किसिमको वर्दी लगाएर विभिन्न युद्ध कौशल देखाएका छन् । जस क्रममा अत्याधुनिक हतियार तथा लडाकु विमानहरू प्रदर्शन गरिएको छ। यस परेडलाई हालसम्मकै ठुलो सैन्य परेड मानिएको छ ।

८० औँ वार्षिकोत्सवको स्मरण भएकाले ८० तोपको सलामी समेत दिइएको छ । परेडमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित २६ देशका राष्ट्र एवं सरकार प्रमुखहरू उपस्थित भए । जसमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन लगायत छन् । चीन र रुसका राष्ट्रपतिसँगै उत्तर कोरियाका सर्वोच्च नेता पहिलो पटक एउटै मञ्चमा देखिएका हुन् । यसले विश्वको ध्यान चीनतर्फ तानेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि चिनिया समारोहमाथि कडा टिप्पणी गरेका छन् । ट्रम्पले सो समारोहलाई पुटिन र किमसँग मिलेर चीनले गरेको अमेरिकाविरुद्धको षडयन्त्रको संज्ञा दिएका छन् । अन्तर्राष्ट्रिय मिडियाहरूले तीन नेताहरू काँधमा काँध मिलाएर हिँड्नु र ट्रम्पको यो आक्रोशलाई विश्व भूराजनीतिको नयाँ मोडका रूपमा व्याख्या गरेका छन् ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१