
काठमाडौं – नेपालकै सफल ग्लोबल प्रविधि समूहमध्ये एक लेपफ्रग टेक्नोलोजी इन्क. (Leapfrog Technology Inc.) ले आफ्नो प्रमुख डिजाइन र नेटवर्किङ कार्यक्रम ‘डिजाइन डिस्को’ (Design Disco) को चौथो संस्करण सम्पन्न गरेको छ।
अमेज़न वेब सर्भिस (AWS) द्वारा सञ्चालित उक्त कार्यक्रम काठमाडौंको ठमेलस्थित सप्पर क्लबमा आयोजना भएको थियो। कार्यक्रममा १५० भन्दा बढी प्रविधि विज्ञ, नवप्रवर्तनकर्ता र डिजाइनप्रेमीहरूको सहभागिता थियो। यस वर्षको मूल विषय “द डिजिटल मी (The Digital Me)” रह्यो।
कार्यक्रममा व्यक्तिगत अनुकूलन (personalization), कन्टेन्ट–अवेयर अनुभव (content-aware experiences), स्पेसियल डिजाइन र इनभिजिबल इन्टरफेस जस्ता नयाँ अवधारणाहरूमा छलफल भयो। प्रविधिसँगको अन्तरक्रिया केवल अटोमेसन वा उपकरण प्रयोगमा मात्र सीमित नभई एआई (AI) लाई आफ्नो वास्तविक विस्तारको रूपमा लिन सकिने सम्भावना र चुनौतीबारे वक्ताहरूले प्रकाश पारे।
वक्ता तथा लेपफ्रगका डिजाइन निर्देशक अभाष विक्रम थापाले भने, “डिजाइन अब केवल स्क्रिनमा देखिने कुरामात्र छैन; यसले अनुभवजन्य संलग्नता (experiential engagement) सम्म विस्तार पाइसकेको छ, विशेषगरी एआई मिसिँदा यसको प्रभाव अझ गहिरो हुन्छ। हामी यस वर्षको सहभागिता र उत्साह देखेर निकै उत्साहित छौं, जुन अघिल्ला तीन संस्करणभन्दा धेरै माथि पुगेको छ।”
त्यस्तै, वर्ल्ड वी डिजायरकी संस्थापक दीप्शिखा यादवले कार्यक्रमबारे आफ्ना अनुभव सुनाउँदै भनिन्, “सबै कुरा सोचविचारपूर्वक तयार गरिएको थियो। स्थल निकै विशेष र ऊर्जा दिने खालको थियो। ‘द डिजिटल मी’ ले पहुँचदेखि मार्केटिङसम्मका विभिन्न आयामलाई जोड्यो, जुन प्रेरणादायी रह्यो।”
यसैगरी माइक्रोसफ्टकी सिनियर प्रोडक्ट डिजाइनर जयश्री नाग्राले र एड क्लब अफ नेपालका गभर्नर विधान राजभण्डारीले पनि आफ्नो अनुभव र विचार साझा गरेका थिए।
‘डिजाइन डिस्को’ प्रत्येक वर्ष आयोजना हुँदै आएको छ र यसलाई नेपाली डिजाइन समुदायका लागि प्रमुख प्लेटफर्म मानिन्छ। यसले सिर्जनशील प्रतिभा, डिजाइनर, प्रविधि क्षेत्रका विज्ञ र नवप्रवर्तनकर्तालाई एकै स्थानमा ल्याउने, विचार आदानप्रदान गर्ने र नेटवर्किङ गर्ने अवसर प्रदान गर्दै आएको छ।
लेपफ्रग टेक्नोलोजीले स्वास्थ्य, वित्त, शिक्षा, निर्माण लगायतका क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (AI), डाटा, क्लाउड र सफ्टवेयर इन्जिनियरिङमा प्रविधि समाधान दिँदै आएको छ।