• २०८३ असार १७
  • 2026 July 01, Wednesday

संसद भवनको निर्माण निर्धारित समयसीमा भित्र सम्पन्न नहुने संकेत

काठमाडौं । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन (संयुक्त) समितिले बिहीबार निर्माणाधीन नयाँ संसद भवनको अवलोकन गरेको छ ।

अवलोकनपछि समितिले निर्माण कार्य निर्धारित समयसीमा भित्र सम्पन्न नहुने संकेत देखिएको निष्कर्ष निकालेको छ ।समितिका सभापति ठाकुर गैरेले संसद भवनको निर्माण कार्यप्रति गम्भीर चासो व्यक्त गर्दै पछिल्लो समय म्याद थप्ने विषय उठेसँगै समिति सक्रिय भएको बताए । उनले भने, ‘हामीले मन्त्रालयसँग म्याद किन थप्ने, कति समय थप्ने र त्यो समयभित्र निर्माण कार्य सम्पन्न हुने सुनिश्चितता कसरी गर्ने भनेर प्रश्न गरेका थियौं ।’

सभापति गैरेका अनुसार सरकारका प्रतिनिधिहरूले आउँदो हिउँदे अधिवेशन नयाँ भवनमै सञ्चालन गर्ने गरी म्याद थपिएको बताएका थिए । तर हालको कामको गति र प्रगतिको मूल्याङ्कन गर्दा त्यो सम्भव नदेखिएको समितिको ठम्याइ छ ।

‘हामीले सरकारसँग हरेक महिनाको वर्किङ क्यालेन्डर माग गरेका थियौं,’ गैरेले भने, ‘तर आज हेर्दा सरकारले दिएको रिपोर्ट र वर्किङ क्यालेन्डर अनुसारको काम भइरहेको छैन ।’सभापति गैरेले कामदारहरुको संख्या, त्यसमा हरेक १५ दिनमा हुनुपर्ने कार्य प्रगति रिर्पोट हेर्दाखेरि त्यो थपिएको समयमा सम्पन्न गर्ने स्पिडको काम नभएको बताए ।