नेपालका प्रमुख सहरहरूमा जेनजी पुस्ताको प्रदर्शन: एक ऐतिहासिक युवा आन्दोलन

नेपालका प्रमुख सहरहरूमा जेनजी पुस्ताले सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णय र भ्रष्टाचारविरुद्ध व्यापक प्रदर्शन सुरु गरेका छन्। यस आन्दोलनको मुख्य उद्देश्य अभिव्यक्ति स्वतन्त्रता र पारदर्शिता सुनिश्चित गर्नु हो।

काठमाडाैंकाे माइतीघर मण्डलामा बिहान ११ बजेदेखि प्रदर्शन सुरु भएको छ। यहाँ हजारौं युवाहरू राष्ट्रिय झण्डा र प्लेकार्डसहित उपस्थित भएका छन्। उनीहरूले ‘Enough is Enough’, ‘Stop Corruption’, ‘We Are the Future’ जस्ता नारा लगाएका छन्।

यसैगरी, पोखराको प्रमुख चोकहरूमा पनि प्रदर्शन भइरहेको छ। यहाँका युवाहरू वर्षा र हावाहुरीको बीचमा पनि प्रदर्शनमा सक्रिय छन्।

त्यस्तै, नवलपरासीकाे कावासोतीमा पनि विभिन्न कलेजमा अध्ययनरत विद्यार्थी भ्रष्टाचारको विरोधमा उत्रिएका छन्। कावासोतीको मध्यविन्दु, कुमारवर्ती र लुम्बिनी कलेजमा अध्ययनरत विद्यार्थी कावासोतीस्थित महेन्द्र राजमार्गमा प्रर्दशन गरेका हुन् । पोसाकसहित आएका उनीहरुले भ्रष्ट सरकार मुर्दावाद, हाम्रो कर फिर्ता गर, भ्रष्टाचारी सार्वजनिक गर, जेन-जी आन्दोलन हाइहाई जस्ता नारा उनीहरुले लगाएका छन् ।

यसैगरी, दाङ, बुटवललगायतका सहरहरूमा पनि जेनजी पुस्ताका सदस्यहरूले प्रदर्शन गरेका छन्। यहाँका युवाहरूले सामाजिक सञ्जालको बन्दीकरण र भ्रष्टाचारविरुद्ध आवाज उठाएका छन्।

सरकारले २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि जेनजी पुस्तामा आक्रोश फैलिएको हो। यसले उनीहरूको सिर्जनात्मकता र अभिव्यक्तिलाई सीमित गरेको भन्दै उनीहरूले सडकमा उत्रेर विरोध जनाएका छन्। टिकटक, यूट्यूब र अन्य सामाजिक सञ्जालमा प्रदर्शनका लागि तयार गरिएका भिडियो र पोस्टहरू भाइरल भएका छन्। यसले आन्दोलनलाई थप बल र समर्थन दिएको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१