• २०८३ असार २६
  • 2026 July 10, Friday

देशभित्रबाटै समस्याको निकास निकाल्न पूर्वराजाको आग्रह

पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा देखिएको पछिल्लो समस्याको समाधान देश भित्रैबाट खोज्न अनुरोध गरेका छन् । पूर्वराजा शाहको संवाद सचिवालयले आज एक विज्ञप्ति जारी गर्दै जेनजीले देश र समाजका निम्ति केही राम्रो काम गरौँ भन्ने उद्देश्य राखेकोमा उनीहरूको जायज माग सम्बोधन नगरी आन्दोलनमा मानवीय क्षति भएको भन्दै पूर्वराजा ज्ञानेन्द्रले दुःख व्यक्त गरेको जनाएको हो ।
‘पछिल्लो पुस्ताको यो आन्दोलन हिंसात्मक नबनोस्, अराजक नरहोस् र यसमा कसैको घुसपैठ नहोस् भन्ने धारणा राखी बक्सेको छ । हाल उठेको सुशासन र आर्थिक अनुशासनका कुरा ध्यानमा राखी देश भित्रबाटै समस्याको समाधान निकालियोस् भन्ने चाहना राखी बक्सेको छ,’ पूर्वराजा ज्ञानेन्द्रको संवाद सचिवालय मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ  ।
पूर्वराजा ज्ञानेन्द्र शाहले यो घटना शान्ति प्रिय नेपाली समाजको मान्यता विपरीत रहेको समेत बताएका छन् ।
जेनजीले देश र समाजका निम्ति केही राम्रो काम गरौँ भन्ने उद्देश्य राखेर गरेको विरोध प्रदर्शन मार्फत पोखेको आक्रोश निश्चय पनि आम चासोको विषय भएको विज्ञप्तिमा उल्लेख छ ।
पूर्वराजा ज्ञानेन्द्रले प्रदर्शनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।