• २०८३ असार २६
  • 2026 July 10, Friday

सेनाले भन्यो: नेपाल र नेपाली जनताको रक्षा गर्न प्रतिबद्ध छौँ 

नेपाली सेनाले नेपाल र नेपाली जनताको रक्षा गर्न प्रतिबद्ध रहेको बताएको छ । आज एक विज्ञप्ति जारी गर्दै नेपाली सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय एकताको रक्षा र नेपाली जनताको जिउधनको सुरक्षार्थ विषम परिस्थितिमा पनि नेपाली सेना प्रतिबद्ध रही आएको जनाएको हो ।
सेनाले नेपालमा हाल भइरहेको जेनजी आन्दोलनका विकसित घटनाक्रमहरूबारे विश्लेषण गरिरहेको समेत जनाएको छ । सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यस आन्दोलनको क्रममा हुन पुगेको जनधनको अपूरणीय क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्नुका साथै शोक सन्तप्त परिवारजन प्रति नेपाली सेना हार्दिक समवेदना र सहानुभूति व्यक्त गर्दछ । साथै, घाइते बिरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछ ।”
सेनाले यस विषम परिस्थितिमा संयमित हुन सबैलाई अपिल अनुरोध समेत गरेको छ । “यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो । तसर्थ, विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीमा हार्दिक अनुरोध गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।