अरू पूर्वप्रधानमन्त्री र मन्त्री फर्किए, ओली र देउवा अझै सेनाको सुरक्षामा

काठमाडाैं । जेनजी विद्रोहपश्चात असामान्य तनावमा परेको काठमाडौं उपत्यका अहिले विस्तारै सामान्य अवस्थामा फर्किएको छ । भ्रष्टाचार, बेथिति र सत्तापक्षीय दमनविरुद्ध उत्रिएका जेनजी आन्दोलनकारीमाथि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कठोर दमन गर्दा सत्ता नै छाडेर भाग्नुपर्‍यो ।

आक्रोशित आन्दोलनकारीले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका प्रशासकीय भवन कब्जा गरेर ध्वस्त पारेका थिए। त्यसैगरी, प्रमुख दलका कार्यालय, नेताहरूका निजी निवास, व्यवसायी भवनदेखि सरकारी सम्पत्तिसम्ममा देशभर आगजनी भएको थियो ।

उच्च सुरक्षा जोखिमका कारण तत्कालीन प्रधानमन्त्री ओलीसहितका शीर्ष नेताहरूलाई नेपाली सेनाले सुरक्षित स्थलमा लगेर राख्नुपरेको थियो । भदौ २४ गते सेनाले ओलीलाई बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट शिवपुरी ब्यारेकमा पुर्‍याएको थियो । त्यस्तै, माओवादी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल सिंहदरबारस्थित दलको कार्यालयमै विपक्षी बैठकमा रहेका बेला सेनाले उद्धार गरी सुरक्षित राखेको थियो ।

यसैबीच, कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र निवर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा बुढानीलकण्ठस्थित निवासमै रहेका थिए । तर, आक्रोशित प्रदर्शनकारीले त्यहाँ आगजनी गरी देउवा दम्पतीलाई निर्घात कुटपिट गरेका थिए । पछि सेनाले उद्धार गरी उपचारका लागि अस्पताल लगेको थियो ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल निवासमै भएको बेला आन्दोलनकारीले आगजनी गर्दा उनकी श्रीमती रविलक्ष्मी चित्रकार गम्भीर घाइते भएकी छिन् । त्यस्तै, जेनजी आन्दोलनकै क्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको निवासमा पनि आगजनी भए पनि उनी सेनाको ब्यारेकमा नभइ आफन्तको घरमै बसेका थिए ।

स्रोतका अनुसार, ओली र देउवा बाहेक आइतबार र सोमबार गरी अन्य पूर्वप्रधानमन्त्री तथा मन्त्रीहरू आफ्ना निवास फर्किएका छन् । आक्रमणमा परेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अझै उपचाररत छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१