काठमाडौँ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आफ्नै निवासमा आक्रमणमा परेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको उपचारका क्रममा टाउको पछाडिको भागमा १२ वटा टाँका लगाउनुपरेको पाइएको छ।
शुक्रबार बसेको नेपाली काँग्रेसको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा काँग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आक्रमणका क्रममा देउवालाई पछाडिबाट धारिलो हतियारले हानिएको र उपचारका क्रममा १२ वटा टाँका लगाउनु परेको जनाएका हुन् ।
विश्वकर्माले भने, ‘हामी सुरुमा अतालिएका थियौँ। तर उहाँहरूको स्वास्थ्य उपचार राम्रो हुँदै गयो। अहिले सामान्य अवस्थामा फर्किँदै हुनुहुन्छ। उहाँहरूको स्वास्थ्यमा सुधार आइरहेको छ। उहाँ (देउवा) को गर्धनभन्दा माथि टाउकोमा गम्भीर चोट लागेको छ। त्यहाँ १२ वटा टाँका लगाइएको छ। गर्धनमा सामान्य चोट छ। टाँका लगाएको ठाउँ र त्यो चोट निको हुँदै गएको छ।’
हाल देउवा दम्पतीको सैनिक अस्पतालमा उपचार भइरहेको छ । अहिले सभापति देउवा सामान्य बोलचाल, हिँडडुल र पार्टीका नेताहरूसँग संवाद गर्न सक्ने भएको विश्वकर्माले बताएका छन्।
उनले भने, ‘अहिले अस्पतालमै राखेर उपचार गर्ने कुरा छ। अहिले हिँडडुल गर्ने, फोन गर्ने गर्दै हुनुहुन्छ । पार्टीसँग सम्पर्कमै हुनुहुन्छ, बाहिर गएपछि भिडभाड हुन्छ, त्यसले डाक्टरको परामर्शले अस्पतालमै राखिएको छ।’