• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

आदीलको पुनरागमन: सन्तुलित टिम, उत्साहित समर्थक

लामो समयपछि अलराउन्डर मोहम्मद आदिल अन्सारीले  वेस्ट इन्डिजविरुद्धको तीन वटा टी–२० आई (युनिटी कप) सिरिजमा राष्ट्रिय टिमबाट पुनरागमन गर्दै छन् । अघिल्लो महिना आसामविरुद्ध ‘नेपाल ए’ बाट खेलेका उनले राष्ट्रिय टिमबाट भने वर्षौँपछि खेल्न लागेका हुन् ।

आदिलसँगै नेपाली टोलीमा पुनरागमन गरेका अर्का खेलाडी हुन्, सन्दीप जोरा । सन्दीप एक वर्षपछि टोलीमा फर्किँदै छन् भने आदिलको हकमा भने नेपाली क्रिकेट करियरमा नयाँ अध्याय नै मान्न सकिन्छ। आदिलले नेपाल राष्ट्रिय टोलीको जर्सी नलगाएको ३ वर्ष भन्दा बढी भैसकेको छ । आदिलले नेपालका लागि अन्तिम एक दिवसीय अन्तर्राष्ट्रिय खेल १६ जुलाई २०२२ मा नामिबियाविरुद्ध खेलेका थिए।

त्यस्तै, उनले अन्तिम टी-२० अन्तर्राष्ट्रिय खेल २०२२ अगस्ट ३० मा केन्याविरुद्ध खेलेका थिए।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार ऐतिहासिक सिरिजका लागि घोषणा गरेको नेपाली टोलीमा अन्सारीले स्थान बनाएसँगै ३ वर्षपछि आदिलको पुनरागमन सम्भव भएको हो।

नेपालले युएईमा टेस्ट मान्यता राष्ट्र वेस्ट इन्डिजविरुद्ध २७, २९ र ३० सेप्टेम्बरमा प्रतिस्पर्धा गर्दै छ । अन्सारीले भारतको आसामविरुद्ध पाँच वटा टी–२० सिरिज खेलेका थिए । अन्सारीले नेपाली राष्ट्रिय टोलीबाट अन्तिम पटक नैरोबीमा केन्याविरुद्ध टी–२० आई खेल्नु अगाडी सोही वर्षको ३१ मार्चमा पपुवा न्युगिनीविरुद्ध टी–२० आईमा डेब्यु गरेका थिए ।

यसै वर्ष वैशाखमा क्यानले आदिलको निलम्बन फुकुवा गरेसँगै अन्सारीलाई राष्ट्रिय टोलीमा फर्किने बाटो खुला भएको हो । २१ वर्षीय अन्सारी दुई वर्षअघि आयोजित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगका दौरान स्पट फिक्सिङ काण्डमा मुछिएपछि क्यानले उनलाई निलम्बन गरेको थियो । स्पट फिक्सिङमा मुछिएपछि तत्कालीन राष्ट्रिय टिमका सदस्यसमेत रहेका अन्सारीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाउने गरी क्यानले प्रतिबन्ध लगाएको थियो ।

निलम्बन फुकुवा भएसँगै उनको राष्ट्रिय टोलीको ढोका पनि खुलेको हाे । फिक्सिङ प्रकरण अगाडि नियमित राष्ट्रिय टोलीमा रहँदै आएका युवा अलराउन्डर प्रतिबन्धमा परेपछि भने उनले विभिन्न ठाउँमा सामान्य प्रतियोगिताहरूमा सहभागिता जनाएका थिए। उनी निलम्बनमा हुँदासमेत भारत र नेपालको मधेसमा आयोजित विभिन्न साना ठुला प्रतियोगिताहरू खेलिरहेका हुन्थे।

१६ जुलाई २०२२ मा नामिबियाविरुद्ध आदिलले अन्तिम पटक एक दिवसीय खेल खेल्दै गर्दा अन्सारीले सन् २०२२ को ११ जुनमा अमेरिकाविरुद्ध एक दिवसीय खेलमा डेब्यु गरेका थिए । उनले हालसम्म ६ एक दिवसीय खेलमा ७० रन तथा आठ टी–२० आईमा एक सय १० रन जोडेका छन् । यसैगरी, एक दिवसीयमा ६ तथा टी–२० आईमा उनले पाँच विकेट लिएका छन् । नेपालमा म्याच फिक्सिङ्मा उपयुक्त कानुन नभएका कारण आदिललाई अदालतले सफाइ दिएको थियो।

नेपाली राष्ट्रिय क्रिकेट टिममा तीन वर्षपछि पुनरागमन गरेका अलराउन्डर आदिल अन्सारीले टिममा फर्किन पाउँदा अत्यन्तै भावुक भएको प्रतिक्रिया दिए । वेस्ट इन्डिजविरुद्धको आगामी सिरिजको लागि टिममा समावेश भएका आदिलले आफ्नो कमब्याकलाई “एकदम विशेष” अनुभवका रूपमा लिएका छन्। उनले भने,“फिलिङ्स एकदम राम्रो भयो, अलि भावुक पनि भएँ, “तीन वर्षपछि कमब्याक भएको हो। हेर्दा सुन्दा नै राम्रो लाग्यो”, आदिलले भने।

अन्सारीका अनुसार हालको टिमको समग्र संरचना निकै बलियो छ। ब्याट्सम्यान, बलरदेखि लिएर अलराउन्डरसम्म सबैको समायोजन राम्रो भएको उनको बुझाइ छ। “जसले जुन रोल पाउँछ, आशा छ सबैले राम्रो गर्नेमा”, उनले विश्वास व्यक्त गरे ।

टिममा फर्किन पाउनु आफूले अपेक्षा गरेको भन्दा बढी “हाइ” महसुस भएको पनि उनले सुनाए।

आफ्नो जीवनमा क्रिकेट पुनः ‘सेट’ गरिदिएको भन्दै उनले अल्लाहप्रति कृतज्ञता पनि व्यक्त गरे। “क्रिकेटकै माध्यमबाट फेरि पनि जीवनको बाटो खुलेको छ,” उनले भने।

वेस्ट इन्डिजविरुद्धको सिरिजमा समावेश भएपछि आगामी विश्वकप छनोटको लागि समेत आफू तयार रहेको बताउँदै आदिलले वर्ल्ड कप खेल्नेमा ढुक्क रहेको बताए।

यस अगाडी आसामविरुद्धको सिरिजले आफू र टिमलाई धेरै मद्दत गरेको बताउँदै आदिलले भने, “राम्रो टिम, राम्रो पिच र राम्रो ग्राउन्डमा खेलेर हामीले धेरै कुरा सिक्यौँ।” सो अनुभव वेस्ट इन्डिजविरुद्धको सिरिजमा उपयोगी हुने विश्वास उनले विश्वास लिएका छन् ।

त्यस्तै नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर ललित राजवंशीले आदिल अन्सारीको टिममा पुनरागमनले समग्र टिममा सकारात्मक ऊर्जा थपिएको बताएका छन्। वेस्ट इन्डिजविरुद्धको घरेलु सिरिजको तयारीमा व्यस्त रहेको टिम नेपालले विगत केही दिनदेखि संयुक्त अभ्यास गरिरहेको र अभ्यासका क्रममा निकै सहज महसुस भएको बताएका छन्।

“आदिल जोडिएको छ टिममा। उनको कन्फिडेन्स, मोटिभेसन एकदम राम्रो छ,” ललितले भने, “उनले डोमेस्टिक क्रिकेटमा राम्रो प्रदर्शन गरेर फर्किएका हुन् । त्यसले गर्दा टिममा पनि सकारात्मक माहौल बनिरहेको उनले बताएका छन्।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा हाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले पनि आदिल अन्सारीको टिममा पुनरागमनप्रति खुसी व्यक्त गरेका छन्। तर, उनले मिडियामा यसको “बढी हाइप” नगर्न आग्रह गरेका छन्।

“आदिलको पुनरागमन साँच्चिकै सकारात्मक खबर हो। उनले मेहनतका साथ राम्रो प्रदर्शन गर्दै टिममा पुनरागमन गरेका छन्, जुन हामी सबैको लागि उत्साहजनक कुरा हो,” खड्काले भने, “तर मिडियामा यसको अत्यधिक चर्चा हुनुले उनीमाथि अतिरिक्त दबाब सिर्जना गर्न सक्छ।”

खड्काको भनाइमा, मिडियाबाट आउने बढी हाइपले खेलाडीको प्रदर्शनमा प्रतिकूल असर पार्न सक्छ। “हाइपले कहिलेकाहीँ खेलाडीले अनावश्यक प्रेसर महसुस गर्छन्,” उनले स्पष्ट पारे, “त्यसैले आदिललाई आफ्नो खेलमा फोकस गर्न दिन खड्काले आग्रह गरेका छन्।”

बिहीबार दुबईमा हुने वेस्ट इन्डिजविरुद्ध खेल्न जाने नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घले बिदाइ गरिसकेको छ । दसैँको मुखमा हुन लागेको वेस्ट इन्डिज विरुद्धको खेल सकिसकेपछि तत्कालै नेपाली टोली विश्वकप छनौट खेल्न ओमान प्रस्थान गर्ने तालिका छ। ओमानमा नतिजा आफ्नो पक्षमा पार्न सकेको खण्डमा नेपाल तेस्रो पटक विश्वकपमा सहभागी हुनेछ ।