काठमाडौं । सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदिश खरेलले ५ महिनाभित्र देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा निस्शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेका छन् ।
सोमबार मन्त्रालयको पदभार ग्रहण गरेका मन्त्री खरेलले पहिलो निर्णयमा यो व्यवस्था गर्न भनेका हुन् ।
पदभार ग्रहणका लागि पुगेका मन्त्री खरेलले सुरुमा कर्मचारीले ल्याएको प्रस्तावमा केही परिवर्तन गर्न भनेका थिए ।
निर्णय अनुसार काठमाडौं बाहिरका प्रमुख १० वटा शहरका प्रमुख सार्वजनिक स्थलमा इन्टरनेट सेवा उपलब्ध गराइनेछ ।
आफ्ना बुबा सिद्धिप्रसाद खरेलसहित मन्त्रालय पुगेका उनले पत्रकारहरुलाई आफ्नो बुबाको परिचय गराएका थिए । पत्रकारहरुसँग उनले छोराले राम्रो काम गर्नुपर्ने सुझाव दिए ।
पदभार ग्रहणपछि उनले कर्मचारीले ल्याएको पहिलो निर्णयमा हस्ताक्षर गरेनन् । उनले केही परिवर्तन गरेर अर्को प्रस्ताव तयार गर्न निर्देशन दिएका थिए ।