काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतजस्तो विशाल देशका लागि अब बाह्य निर्भरता स्वीकार्य नहुने बताएका छन्। उत्तर प्रदेशमा आयोजित अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै उनले भारत आत्मनिर्भर हुने संकल्पलाई पुनः दोहोर्याएका हुन्।
प्रधानमन्त्री मोदीले भने, ‘भारत जस्तो देशका लागि अब कसैमाथि निर्भरता स्वीकार्य छैन। त्यसैले भारत आत्मनिर्भर हुनैपर्छ। आज भारत २०४७ सम्ममा विकसित राष्ट्र बन्ने लक्ष्यतर्फ अघि बढिरहेको छ।’
उनका अनुसार विश्वव्यापी अवरोध र अनिश्चितताबीच पनि भारतको वृद्धि दर प्रभावशाली छ। ‘विभिन्न चुनौतीका बीच भारतले आगामी दशकहरूको लागि जग बलियो बनाइरहेको छ। यो हाम्रो संकल्प हो, हाम्रो मन्त्र हो र आत्मनिर्भर भारत हो,’ उनले भने।
प्रधानमन्त्री मोदीले चिप्सदेखि जहाजसम्म सबै वस्तु भारतमै उत्पादन गर्ने लक्ष्य राखिएको बताए। उनले अमेरिकाबाट ५० प्रतिशतसम्म भन्सार महशुलको सामना गर्दै पनि भारतले स्वदेशी उत्पादन र आत्मनिर्भर अर्थतन्त्रलाई प्राथमिकता दिइरहेको उल्लेख गरे।