करिब ६० वर्ष पछि सिरियाले संयुक्त राष्ट्रसंघको महासभामा प्रत्यक्ष सम्बोधन गरेको छ। यो ऐतिहासिक क्षणमा सिरियाका नयाँ राष्ट्रपति अहमत अल-शाराले युएनमा सिरियाको अधिकारसम्मत स्थान फिर्ता आएको घोषणा गरे, प्रतिबन्ध हटाउन आह्वान गरे र आफ्नो मुलुकको नयाँ राजनीतिक यात्राको संकेत दिए। यो सम्बोधन केवल औपचारिकता मात्र थिएन, बरु सिरियाको विगत छोडेर नयाँ भविष्यको उद्घोष थियो।
तर प्रश्न उठ्छ, आखिर किन ६० वर्ष पर्खनुपर्यो? यसको उत्तर सिरियाको राजनीतिक इतिहासमै छ। सन् १९६७ पछि सिरियाका राष्ट्रप्रमुखले संयुक्त राष्ट्रसंघको महासभामा प्रत्यक्ष सम्बोधन गर्न सकेका थिएनन्। त्यसपछि देश असद परिवारको कडाइपूर्ण शासन अन्तर्गत आयो। करिब पाँच दशकभन्दा बढी समय हाफेज अल-असद र बशर अल-असदले निरन्तर सत्तामा बसेर शासन गरे। उनीहरूको पालामा सिरियामा राजनीतिक स्वतन्त्रता दमन भयो, मानवअधिकार उल्लंघन बढ्यो र देशलाई अन्तर्राष्ट्रिय मञ्चमा अलगावमा धकेलियो। विशेषगरी सन् २०११ पछि सुरु भएको गृहयुद्धले त मुलुकलाई पूर्ण रूपमा भत्काइदियो। युद्ध, आतङ्कवाद, र विदेशी हस्तक्षेपको कारण सिरियाको छवि अन्तर्राष्ट्रिय समुदायमा झनै कमजोर बन्यो।
यस लामो अन्तरालको अर्को महत्त्वपूर्ण कारण पश्चिमी मुलुकहरूको दबाब पनि हो। अमेरिका र यूरोपेली शक्तिहरूले असद शासनलाई अलग गर्न दशकौंसम्म कडा आर्थिक र राजनीतिक प्रतिबन्ध लगाइरहे। प्रतिबन्धहरूले सिरियाली जनतालाई रोजगारी, स्वास्थ्य, शिक्षा, व्यापार सबै क्षेत्रमा गम्भीर संकटमा पारे। अन्तर्राष्ट्रिय सम्मेलनमा सिरियाको उपस्थितिलाई सीमित गरियो र उसको आवाजलाई प्रायः बेवास्ता गरियो। यति लामो समयसम्म सिरिया विश्वमञ्चमा मौन रहनुमा यी प्रतिबन्धहरूको ठुलो भूमिका रह्यो।
तर असद शासनको पतनसँगै परिस्थिति बदलियो। नयाँ राष्ट्रपति अहमत अल-शाराको नेतृत्वमा संक्रमणकालीन सरकार गठन भयो। उनले जनताको आवाजलाई प्रतिनिधित्व गर्ने प्रतिबद्धता जनाए, संवैधानिक सुधार र संक्रमणकालीन न्यायको प्रक्रिया सुरु गरे। यही कारण सिरियाको अन्तर्राष्ट्रिय छवि फेरि निर्माण हुँदैछ। पश्चिमी मुलुकहरू पनि असदपछिको नेतृत्वसँग संवाद गर्न आंशिक रूपमा तयार भएका छन्। यही बदलिँदो राजनीतिक र कूटनीतिक वातावरणले सिरियालाई फेरि संयुक्त राष्ट्रजस्तो ठुलो मञ्चमा ल्याएको हो।
संयुक्त राष्ट्र महासभामा आफ्नो सम्बोधनमा अल-शाराले सिरियाको पीडा र संघर्षलाई स्मरण गरे। उनले भने, “सिरियाको कथा असल र दुष्टबीचको सङ्घर्ष हो। हामीले अन्याय, अभाव र उत्पीडन भोग्यौं, तर अब सम्मानका लागि उठेका छौं।” उनले सिरियामाथि लगाइएका सबै प्रतिबन्धहरू हटाउन आग्रह गर्दै ती प्रतिबन्धले “सिरियाली जनतालाई बाँधिरहेको” उल्लेख गरे। साथै, उनले इजरायली आक्रमणहरूको निन्दा गर्दै संवाद र शान्तिको बाटोमा अघि बढ्ने दृढता पनि प्रकट गरे।
यस सम्बोधनलाई धेरै विश्लेषकहरूले सिरियाको अन्तर्राष्ट्रिय पुनरागमनको प्रतीक मानेका छन्। करिब ६ दशकपछि सिरियाले आफ्नो आवाज संसारभर पुर्याउन सकेको छ। यो केवल राजनीतिक परिवर्तनको मात्र परिणाम होइन, बरु जनताको लामो संघर्ष, अन्तर्राष्ट्रिय दबाब, र नयाँ नेतृत्वको संयोजनबाट सम्भव भएको हो। अब संसारले हेर्नेछ- सिरिया यो नयाँ बाटोमा कति टाढासम्म अघि बढ्छ र कस्तो स्थायी शान्ति स्थापना गर्न सक्षम हुन्छ।