• २०८३ असार २५
  • 2026 July 09, Thursday

चाडपर्वको बिदामा कहाँ जाने ? मुस्ताङदेखि रारासम्म, यात्राको खर्च कति ?

दशैं तिहार नेपालीहरूको लागि महत्वपूर्ण चाड हुन्, जुन परिवार र साथीभाइसँग समय बिताउने र घुम्न जाने उत्तम अवसर पनि हो। यो समयमा यात्राका लागि मौसम अत्यन्तै अनुकूल मानिन्छ। आधुनिकतासँगै चाडवाड मनाउने शैली पनि फेरिँदै गएको छ र धेरै नेपालीहरू यो बिदामा घुमघाम गर्न औधि रुचाउँछन्। तल नेपालका केही प्रमुख गन्तव्यहरू र त्यहाँको अनुमानित खर्चबारे विस्तृत जानकारी दिइएको छ:

१. नगरकोट (भक्तपुर)

काठमाडौं उपत्यका नजिकैको प्रसिद्ध रमणीय स्थल नगरकोट यसपालिको दशैंमा घुम्नका लागी काठमाडौं तथा बाहिरका पर्यटकहरुलाई, राजधानीबाट ३२ किलोमिटरको दूरीमा रहेको यो गन्तव्य धेरै कुराले महत्वपुर्ण मानिन्छ। नगरकोट सूर्योदयको रमणीय दृश्य हेर्नका लागि विश्वकै उत्कृष्ट स्थानमध्येमा पर्दछ। जहाँबाट लाङटाङ हिमशृंखला र सफा मौसममा सगरमाथासम्म अवलोकन गर्न सकिन्छ। धौलागिरीदेखि कञ्चनजङ्घा हिमश्रृङ्खलासम्मका हिमालहरू यहाँबाट देख्न सकिन्छ। अनुमानित खर्चको कुरा गर्दा काठमाडौंबाट जाने हो भने यातायात, खाना र एक रातको बसोबास सहित प्रति व्यक्ति रु. ३–५ हजारसम्म पर्न जान्छ।

२. कन्याम

इलाम पूर्वी नेपालको सुन्दर जिल्ला इलामको कन्याम पनि मनोरम पर्यटकीय केन्द्र हो। इलामको चिया बगान, काठैकाठको संरचना भएको इलाम बजार, नारायणथान, माईथान, सिंहबाहिनी सेतीदेवी यसपालिको चाडपर्वमा पर्यटकहरुको रोजाई बन्न सक्छ। यो बाहेक इलाममा सन्दकपुर, माईपोखरी, श्रीअन्तु, कन्याम, छिन्तापु, ढापपोखरी, सिद्धिथुम्का, गजुरमुखी, माङसेबुङ, भालुढुंगा, इलाम बजार, झ्याउपोखरी, गुफाथुम्की जस्ता पर्यटकीय स्थलहरू घुम्न योग्य छन्। तिहारपछिको ठूली एकादशीमा मेला लाग्ने हुनाले पनि यो बेला इलाम घुम्न रुचाउने बढि हुन्छन्। अनुमानित खर्चको कुरा गर्दा काठमाडौंबाट जाने हो भने झण्डै रु. १०–१५ हजार रुपैंया पर्न जान्छ।

३. दूधकुण्ड ताल (सोलुखुम्बु)

त्यस्तै सोलुखुम्बुमा अवस्थित दूधकुण्ड ताल पनि यसपालीको चाडवाडमा घुम्नका लागि विशेष ठाउँ हुन सक्छ। सदरमुकाम सल्लेरीबाट झन्डै २० कोश दुरीमा रहेको दूधकुण्ड पुग्न पैदल यात्रा नै गर्नुपर्छ। काठमाडौंदेखि सोलुखुम्बुसम्मको पक्की सडक निर्माण भइसकेको छ। हवाई मार्गबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फाप्ला विमानस्थलसम्म उडेर पनि पुग्न सकिन्छ। दूधकुण्ड क्षेत्रमा दूधकुण्ड ताल, भूतपोखरी, गंगाजमुना ताल, आँखेपोखरी र महाकुण्डको मनोरम दृश्यावलोकन गर्न सकिन्छ। अनुमानित खर्चको कुरा गर्दा पदयात्रा वा ट्रेकिङ पथ अनुसार रु. २० देखी २५ हजारसम्म पर्न जान्छ।

४. लोमाङथाङ (मुस्ताङ)

हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङ पनि पर्यटकहरुको पहिलो रोजाई बन्ने ठाउँ हो ।मुस्ताङमा रहेका विविध आकर्षणमध्ये लोमाङथाङ पनि पछिल्लो समयको चर्चित स्थान हो । सौन्दर्य र सम्पदा दुवै दृष्टिकोणले यो स्थान अति विशिष्ट छ। जोमसोमबाट कालीगण्डकीको तिरैतिर लोमाङथाङ पुग्दा पर्यटकहरुलाई उच्चतम आनन्दको अनुभूति हुन्छ। लोमाङथाङ वरपर देखिने गुफाहरू रहस्यमय छन् र यहाँको जीवनशैली मौलिक छ। अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने लोमाङथाङ घुम्ने पर्यटकको संख्या बढिरहेको छ। यहाँ प्रसिद्द धार्मिक स्थान मुक्तिनाथ पनि जानका लागि उपयुक्त गन्तव्य हो। अनुमानित खर्चको कुरा गर्दा जिप/बस वा एयरको निर्भरता अनुसार रु. २५–४० हजारसम्म पर्न जान्छ।

५. रारा ताल (मुगु)

नेपालकै सबैभन्दा ठूलो प्रसिद्ध रारा ताल पनि पर्यटकहरुका लागि पहिलो रोजाईको गन्तव्यमा पर्छ। यहाँको जैविक विविधता र प्राकृतिक सौन्दर्यताले धेरै वर्षदेखी पर्यटकहरुको मन लोभ्याइरहेको छ ।रारा लेक ट्रेकिङ पनि पर्यटकहरूका अति रुचाइएका गन्तव्यको रूपमा चिनिएको छ। समुद्र सतहबाट २,९९० मिटरको उचाइमा रहेको रारा ताल जान पछिल्लो समय सहज हुँदै गइरहेको छ। काठमाडौंबाट ३० घण्टामै जुम्ला सदरमुकामसम्म पुग्न सकिन्छ भने जुम्लाबाट ६–७ घण्टाको यात्रापछि रारा पुग्न सकिन्छ। राराबाहेक पनि मुगुमा अन्य पर्यटकीय गन्तव्यहरू प्रशस्त छन्, जस्तै: कोटेराजदरबार, रूगा गाविसको रू. १ को नोटमा अंकित चंखेली हिमाल, दुधे दहसहित ५ ताल। अनुमानित खर्चको कुरा गर्दा हवाईमार्ग तथा सडकमार्ग दुवै अनुसार रु. २०–३० हजार पर्न जान्छ।

६. घान्द्रुक (कास्की)

कास्किको घान्द्रुक पनि यसपालिको चाडवाडमा पर्यटकहरुको पहिलो रोजाई बन्न सक्ने ठाउँ हो । यो अन्नपूर्ण हिमाल तथा अन्नपूर्ण संरक्षण क्षेत्र घुम्न आउने नेपाली तथा विदेशी पर्यटकहरूमाझ एक चिरपरिचित गन्तव्य हो। ठिंग उभिएका मनास्लु, अन्नपूर्ण र धौलागिरि लगायत २० भन्दा बढी हिमचुचुराहरू यहाँबाट देख्न सकिन्छ। पोखरादेखि करिब ४२ किलोमिटर दूरीमा रहेको घान्द्रुक पुग्न सहजै यातायातको व्यवस्था छ। नयाँपुलबाट चार–पाँच घण्टाको पदयात्रापछि घान्द्रुक पुगिन्छ। अनुमानित खर्चको कुरा गर्दा प्रतिव्यक्ति पोखराबाट पुग्दा रु. ५–१० हजारसम्म पर्न सक्छ।

७. लाङटाङ (रसुवा)

वरीपरी हिमालको बीचमा हिउँले ढाकिएको बस्ती र बस्ती नजिकै मन शान्त बनाउने ७०० वर्ष पुरानो आकर्षक गुम्बा लाङटाङ पनि यस चाडवाडमा घुम्नकालागि मुख्य थलो हो। यो क्षेत्र नेपालको राजधानी काठमाडौंबाट पश्चिममा रसुवा जिल्लामा अवस्थित छ र तिब्बतसँग जोडिएको छ। यहाँ लाङटाङ राष्ट्रिय निकुञ्ज, लाङटाङ लिरुङ हिमाल, गोसाइँकुण्ड जस्ता पर्यटकीय स्थलहरू छन्। ऐतिहासिक तथा धार्मिकरुपमा धेरै महत्व बोकेको क्यानजेन गुम्बा यहाँको अर्को आकर्षण हो। अनुमानित खर्चको कुरा गर्दा ट्रेकिङ अनुसार रु. १५ देखी २५ हजारसम्म पर्न जान्छ।

८. सिन्धुलीगढी (सिन्धुली)

‘सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमाई कति न राम्रो दरबार’ गीतले भनेजस्तै सिन्धुलीगढी प्राकृतिक सुन्दरता एवं ऐतिहासिक दृष्टिले महत्वपूर्ण पर्यटकीय गन्तव्य हो। काठमाडौंबाट करिब १५० किलोमिटर पूर्वमा रहेको यो ४,६४८ फिट उचाइमा छ। नेपाल–अंग्रेज युद्धको जिउँदो इतिहास मानिने यस क्षेत्रमा निर्माण गरिएका अप्ठ्यारा खाल्डा, शत्रुलाई आक्रमण गर्न बनाइएका आड तथा दुर्गहरू यहाँ अवलोकन गर्न सकिन्छ। पछिल्लो समय सिन्धुलीगढी दरबारलाई पुनर्निर्माण गरी थप आकर्षक बनाइएको छ। अनुमानित खर्चको कुरा गर्दा काठमाडौंबाट जाने हो भने रु. ३–६ हजार लाग्न सक्छ।

९. चितवन राष्ट्रिय निकुञ्ज 

सौराहा चितवनको सौराहा नेपालको आकर्षक पर्यटकीय गन्तव्य हो। यो सन् १९७३ मा स्थापित नेपालको पहिलो राष्ट्रिय निकुञ्ज हो, जुन सन् १९८४ मा विश्व सम्पदा सूचीमा सुचिकृत भएको थियो। ९३२ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको यो निकुञ्ज विशेषगरी एकसिंगे गैँडा र हात्तीका लागि प्रख्यात छ। यहाँ जंगल सफारी, हात्ती सफारी, र्याफ्टिङ र चराचुरुङ्गी हेर्न सकिन्छ। हात्तीहरूको प्रजनन केन्द्र अवलोकन गर्न सकिन्छ, जुन नेपालकै एकमात्र हात्ती प्रजनन केन्द्र हो। अनुमानित खर्चको कुरागर्दा रु. १०–१५ हजार लाग्न सक्छ जसमा जङ्गल साफारी र अन्य गतिविधिहरु संलग्न छन् ।

१०. खप्तड (सुदूरपश्चिम)

खप्तड सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल हो, जहाँ खप्तड बाबाले ५० वर्ष तपस्या गरेका थिए। बझाङ, बाजुरा, अछाम र डोटी जिल्लाका करिब २२५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्ज १९८४ मा स्थापना भएको हो। यहाँ २२४ प्रजातिभन्दा बढी अमूल्य जडीबुटीहरू र २८७ प्रजातिका चराहरू पाइन्छन्। खप्तड दह, नाग दह, माथिल्लो त्रिवेणी लगायत ५२ वटा तालहरू यहाँका पर्यटकीय क्षेत्र हुन्। खप्तड बाबाको आश्रम, धार्मिक धाम शैलेश्वरी, पाँच शहरका नामले चर्चित रामरोशन, मल्लिका देवीको घरको रूपमा चिनिने बडीमल्लिका, सुरमा सरोबर आदि यहाँका अन्य आकर्षण हुन्। अनुमानित खर्चको कुरा गर्दा प्रतिव्यक्ती रु. १५–२५ हजारसम्म लागत लाग्न सक्छ।

११. जनकपुरधाम (धनुषा)

जनकपुरधाम नेपालको धार्मिक र सांस्कृतिक महत्व बोकेको प्राचीन शहर हो जुन यसपालिको चाडवाडमा घुम्न सकिने गन्तव्यमा पर्छ। यो सीता र रामको विवाह भएको पवित्र भूमि मानिन्छ। यहाँको जानकी मन्दिर, राम मन्दिर, गंगासागर ताल र अन्य धार्मिक स्थलहरू प्रमुख आकर्षण हुन्। मिथिला कला र संस्कृतिले भरिपूर्ण जनकपुरधाममा दशैंको समयमा पनि विशेष पूजाआजा र उत्सवहरू हुने गर्छन्। अनुमानित खर्चको कुरा गर्दा प्रतिव्यक्ती रु. ५–१२ हजार पर्छ।

माथि उल्लेखित खर्चहरू अनुमानित हुन्, यात्राको माध्यम तथा अन्य खर्चहरूमा अनुमानित रकम तलमाथि हुन सक्छ ।