काठमाडौं। नेपाल राष्ट्र बैंकले गभर्नर प्रा. डा. विश्वनाथ पौडेलका लागि घर भाडामा लिन खोजी सुरु गरेको छ।
राष्ट्र बैंकले आइतबार सार्वजनिक सूचना जारी गर्दै ललितपुर बखुन्डोलदेखि भैँसेपाटीसम्मको क्षेत्रमा आवश्यक सुविधा सम्पन्न घर खोजिरहेको जनाएको हो। गभर्नर पौडेलका चितवन र ललितपुर भैँसेपाटीस्थित दुई घर जेनजी आन्दोलनका क्रममा आगजनीमा परेका थिए।
बैंकका अनुसार १६ देखि २४ आना जग्गा भएको, आरसीसी संरचनामा बनेको कम्तीमा १ हजार वर्गफुट पिलिन्थ क्षेत्रफलको घर आवश्यक छ। सो घरमा कम्तीमा एउटा मास्टर बेडरुमसहित ४ वटा बेडरुम, लिभिङ हल, किचन, डाइनिङ हल, स्टोर रुम र सुरक्षाकर्मीका लागि छुट्टै भवनको व्यवस्था हुनुपर्ने शर्त राखिएको छ।
त्यसैगरी कम्तीमा ६ वटा गाडी पार्किङ गर्न सकिने सुविधा, सुरक्षित कम्पाउन्ड वाल, कालोपत्रे सडकसँग जोडिएको, बिजुली, खानेपानी र ढल निकाससहितका पूर्वाधार उपलब्ध हुने घर प्राथमिकतामा रहनेछ।
इच्छुकले आगामी २७ असोज भित्र घर भाडा प्रस्ताव पेश गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।