• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

गौरवदेखि दोधारसम्म : स्वाभिमान र साँचो नेतृत्वको खोजमा नेपाल

नेपाल, बुद्धको जन्मभूमि र विश्वकै सर्वोच्च शिखर सगरमाथाको आँगन। जल–जंगल, नदी–हिमाल र उर्वर भूमिसहित प्राकृतिक रूपमा धनी, इतिहासले गौरवशाली, संस्कृतिले सम्पन्न राष्ट्र आज किन दीन, हताश र दिशाविहीन बनेको छ? यसको उत्तर भूगोल वा इतिहासमा छैन। यसको मूल कारण हो नेतृत्वको खराब नियत, स्वार्थी मानसिकता र भ्रष्ट चरित्र।

हामीले संसारलाई दिएको बुद्धको दर्शनले करुणा र मानवताको जग बसालेको थियो। हाम्रो हिमालले विश्वलाई आह्वान गरेको थियो। हाम्रो संस्कृति, सभ्यता र व्यापारिक सम्पर्कले पूर्वदेखि पश्चिमसम्म नेपाललाई सुदृढ सम्पर्क केन्द्र बनाएको थियो। तर आज हामी आफ्नै नेताको कमजोर दृष्टि, गलत प्राथमिकता र राष्ट्रघाती स्वभावकै कारण आत्मनिर्भर बन्न असफल भई दुई छाक टार्न मात्र सीमित भयौं।

ईसा पूर्व दोस्रो शताब्दी देखि पन्ध्राैँ शताब्दी सम्म सिल्क रोड व्यापार, संस्कृति र दर्शन आदानप्रदानको केन्द्र थियो। यही मार्गमार्फत बुद्धको दर्शन संसारभर फैलियो। नेपाल तिब्बत–भारत शाखामार्फत सभ्यताको अद्वितीय सम्पर्कमा जोडियो। काठमाडौं उपत्यका व्यापार, संस्कृति र सभ्यताको फुलबगैँचा बन्यो। तर आज नेपाल दलाल पुँजिपति र भ्रष्ट नेताहरूको चंगुलमा फस्दै सम्पत्ति, श्रम र भविष्य नै बन्धक बन्न पुगेको छ।

नेपालले संसारकै संवेदनशील भूराजनीतिक स्थान ओगटेको छ। उत्तरतिर चीन, दक्षिणतिर भारत, र पश्चिममा अमेरिका तथा अन्य पश्चिमी शक्ति समूहहरूको बढ्दो चासो। यो स्थानले नेपाललाई विशेष अवसर दिएको थियो, तर हाम्रो नेतृत्वले यसलाई राष्ट्र निर्माणको आधार होइन, विदेशी शक्तिको वरिपरि घुम्ने माध्यम बनायो। आफ्नै स्वार्थ सुरक्षित गर्न नेताहरूले दलगत राजनीति खेले, राष्ट्रलाई कमजोर बनाए।

भारत–चीनबीचको रणनीतिक प्रतिस्पर्धा, अमेरिकाको प्रत्यक्ष–अप्रत्यक्ष हस्तक्षेप, र विश्व शक्तिहरूको एशियामुखी रणनीतिले नेपाललाई स्वाभाविक रूपमा रणनीतिक केन्द्र बनाएको छ। तर नेताहरूले यो संवेदनशीलतालाई अवसर होइन, बेच्ने सामग्री बनाए। यसले नेपालको सार्वभौमिकता थप कमजोर बनायो।

यही बेला विश्वभर अस्थिरता बढ्दो छ। चीनभित्र ताइवानको विवाद, तिब्बतमा दशकौँदेखि जारी दमन, हङकङमा स्वतन्त्रता आन्दोलनमाथि नियन्त्रण, रसिया–युक्रेन युद्धले हजारौँ निर्दोष विस्थापित भएका छन्। मध्यपूर्वमा इजरायल–प्यालेस्टाइन संघर्ष र सिरियाको युद्धले मानवता रगताम्य छ। अफ्रिकामा साम्राज्यवादी हस्तक्षेप जारी छ। यी सबै घटनाले साना मुलुकहरूलाई (विशेष गरी नेपालजस्ता भूराजनीतिक रूपमा संवेदनशील मुलुकलाई)अझ बढी असर पार्ने निश्चित छ।

नेपालभित्रको राजनीति अझ गम्भीर संकटमा छ। अस्थिरता, भ्रष्टाचार, बेरोजगारी, अपराध, अराजकता र स्वार्थी नेतृत्वले जनतालाई निराश बनाएको छ। पुराना दलहरूले नयाँ पुस्ताको आकांक्षा बुझ्न सकेनन्, बरु उनीहरूले जनतालाई धोका दिए, अवसरवादमा रमाए। यही कारणले आज Zen Z विद्रोह जन्मिएको छ। जनताको आक्रोश, नयाँ पुस्ताको आशा र परिवर्तनको चाहनाको अभिव्यक्ति। तर यस विद्रोहलाई सही दिशा दिन नसकिए, यो देशका लागि अवसर होइन, संकट बन्न सक्छ। यसले इतिहासमा सहिद भएकाहरुको बलिदानमाथि धोका पुर्‍याउनेछ।

यदि आगामी निर्वाचन फेरि पुरानै दलगत स्वार्थ र बहुमत नपुग्ने अस्थिर समीकरणमा परिणत भयो भने, संविधान संशोधन र शासन संरचनामा आवश्यक सुधार नगरी प्रत्यक्ष कार्यकारी वा स्थिर विकल्पको बाटो नखुल्यो भने मुलुक गृहयुद्धको खतरनाक सम्भावनामा धकेलिन सक्छ। यसले नेपाललाई नेपालीहरूको होइन, विदेशी शक्तिको खेलमैदान बनाउने जोखिम छ।

तर निराशा मात्र छैन, नेपालसँग अझै पनि आशा र सम्भावनाको उज्यालो छ। लोकतन्त्रको निरन्तर अभ्यास, संघीय संरचनाको विस्तार, शिक्षा र स्वास्थ्यमा सुधार, प्रविधिमा नयाँ पुस्ताको सक्रियता, र अन्तर्राष्ट्रिय पहिचान सुदृढ हुनु यी उपलब्धिहरूले परिवर्तन सम्भव छ भन्ने सन्देश दिएका छन्।

तर यी उपलब्धिलाई संस्थागत नगरी, उत्पादनमुखी अर्थतन्त्र विकास नगरी, पारदर्शी शासन प्रणाली लागू नगरी, र जनतामुखी नीति निर्माण नगरी स्थिर र समृद्ध नेपाल सम्भव छैन।

अर्को गम्भीर चुनौती हो, कृत्रिम बुद्धिमत्ता (AI) र प्रविधिको तीव्र विकास। यसले विश्वभर रोजगारी संकुचन ल्याइरहेको छ। विकसित मुलुकहरूले विदेशी श्रमिक हटाउने प्रक्रिया सुरु गर्दैछन्। यसले लाखौँ नेपालीलाई मातृभूमि फर्किन बाध्य पार्नेछ। त्यतिबेला नेपालले आत्मनिर्भर अर्थतन्त्र, उत्पादनमुखी रोजगारी र राष्ट्रिय उद्योग विकास नगरेको खण्डमा देश थप संकटमा फस्नेछ।

नेपालले अब क्रान्तिकारी तर सभ्य ढंगले सोच बदल्नै पर्छ। हाम्रो हारको कारण भूगोल होइन, नेतृत्व हो। हाम्रो दु:खको कारण भाग्य होइन, कुनियत हो। अब समाधान नारा होइन, संरचनागत परिवर्तन, आत्मनिर्भर उत्पादन, पारदर्शी शासन र साँचो राष्ट्रिय नेतृत्व हो।

बुद्ध र सगरमाथाको भूमिलाई आत्मनिर्भर, स्वाभिमानी र जनतामुखी बनाउन अपरिहार्य छ। नेपालले आफ्नो गौरव, इतिहास र भूराजनीतिक संवेदनशीलतालाई अवसरमा रूपान्तरण गर्न सके मात्र समृद्ध भविष्य निर्माण सम्भव छ। नत्र भने, राज्यविहिनताको जोखिम टार्न गाह्रो हुनेछ।