माइतीघरदेखि नयाँ बानेश्वर आसपासका क्षेत्रमा अहिले कडा सुरक्षा व्यवस्था अपनाइएको छ। ती क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोलीहरु परिचालन गरिएको छ।
जेन–जी समूहले हालै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध प्रहरीमा उजुरी दायर गरेपछि स्थिति तनावपूर्ण बन्दै गएको हो। त्यसको जवाफी रूपमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरका मेयर बालेन शाह र जेन–जीका अगुवा सुदन गुरुङविरुद्ध पनि प्रहरीमा जाहेरी दिएको थियो।
जेन–जी समूहको जाहेरी प्रहरीमार्फत उच्चस्तरीय छानबिन आयोगमा पठाइसकिएको छ भने बालेन र सुदनविरुद्धको जाहेरी पनि आयोगमा पठाउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।
दुई पक्षबीच जाहेरी दर्तादेखि माइतीघर क्षेत्रमा टाँगिएका ब्यानर फेर्ने विवादले सुरक्षा जोखिम बढाएपछि अहिले त्यहाँ कडा निगरानी र उच्च सतर्कता अपनाइएको हो।