नेपाली कांग्रेसको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन्। देउवाको अनुपस्थितिमा बैठक उपसभापति पूर्णबहादुर खड्काले सञ्चालन गर्नेछन्।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो १ बजे बोलाइएको बैठकमा देउवा बिरामी भएकाले उपस्थित हुने सम्भावना कम छ। उनले भने, “उहाँ बिरामी हुनुहुन्छ, त्यसैले आउने सम्भावना न्यून छ, अहिले निश्चित भन्न सकिँदैन।”
जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते देउवालाई आन्दोलनकारीले बूढानीलकण्ठस्थित निवासबाट बाहिर निकालेर कुटपिट गर्दा उनको गर्दनमा गहिरो चोट लागेको थियो। त्यस चोटमा १२ टाँका लगाइएको थियो।
पौडेलका अनुसार बैठक कहाँ बस्ने भन्ने स्थान पनि अहिलेसम्म तय गरिएको छैन।
यस बैठकमा पूर्वपदाधिकारी र इतर समूहका नेता डा. शेखर कोइरालालाई पनि निमन्त्रणा गरिएको छ। पौडेलले पदाधिकारी बैठकमा डा. कोइरालालाई सधैं सहभागी हुन बोलाइने गरेको जानकारी दिए।
आगामी असोज २६ गते आइतबारका लागि तय गरिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्न यस पदाधिकारी बैठक बोलाइएको हो।