माइतीघर क्षेत्रमा प्रदर्शन गर्न खोज्ने क्रममा प्रहरीले डा. निकोलस भुसाल र सञ्जिव दाहालसहित १४ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार जिल्ला प्रशासन कार्यालयले प्रदर्शनका लागि अनुमति नदिएको भए पनि उनीहरू समूह बनाएर माइतीघर पुगेका थिए। त्यसपछि प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
पक्राउ परेका सबैलाई हाल जिल्ला प्रहरी परिसर, काठमाडौँमा राखिएको छ। उनीहरू जेन–जी समूहका विभिन्न सञ्जालसँग सम्बन्धित रहेको बताइएको छ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले माइतीघरदेखि नयाँ बानेश्वरसम्मको क्षेत्रलाई उच्च सुरक्षा सतर्कतामा राखेको छ। ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।
जेन–जी समूहका पछिल्ला गतिविधि र विभिन्न राजनीतिक पक्षबीच बढ्दो आरोप–प्रत्यारोपका कारण राजधानीमा सुरक्षा संवेदनशीलता बढेको छ।