काठमाडौं । इजरायलले गाजामा फेरि हवाई आक्रमण गरेको छ । जसमा १०४ जना प्यालेस्टिनी मारिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इजरायलले गाजा सहरसँगै बेइत ला र खान युनिससहितका अन्य केही सहरका घर, विद्यालय र आवासीय भवनमा हवाई आक्रमण गरेको हो ।
मृतकमध्ये ४६ बालबालिका र २० महिला रहेका छन् भने करिब २५० जना घाइते भएको समाचारमा जनाइएको छ ।
इजरायली रक्षा बल (आईडीएफ) ले ‘दर्जनौं आतंकवादी ठेगाना र लडाकुहरू’ लाई लक्ष्य बनाएको दाबी गरेको छ। सेनाले हमासमाथि युद्धविराम सम्झौताको उल्लङ्घन गरेको आरोप पनि लगाएको छ।
इजरायली रक्षामन्त्री इजरायल काट्जले गाजामा हमासले इजरायली सैनिकमाथि आक्रमण गरेको र मृत बन्धकहरूको शव फिर्ता गर्ने सम्झौताको उल्लंघन गरेको आरोप लगाएका छन् ।
अर्कोतर्फ, हमासले ती सबै आरोप अस्वीकार गरेको छ । संगठनले कुनै पनि आक्रमणसँग आफ्नो सम्बन्ध नभएको र युद्धविरामप्रति प्रतिबद्ध रहेको दाबी गरेको छ ।
बुधबार बिहान इजरायली सेनाले सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै आक्रमण रोकिएको र युद्धविरामलाई निरन्तरता दिइएको जनाएको छ। पोस्टमा भनिएको छ, ‘हमासद्वारा भएका उल्लङ्घनहरूको जवाफस्वरूप कारबाही गरेपछि, इजरायली रक्षा बलले युद्धविरामलाई पुनः कार्यान्वयन गर्न सुरु गरेको छ। इजरायली रक्षा बलले आतंकवादीहरूका ३० वटा कमाण्ड केन्द्रमा प्रहार गरेको छ।’
यसमा थप भनिएको छ, ‘इजरायली रक्षा बलले युद्धविराम सम्झौताप्रति प्रतिबद्ध रहनेछ र कुनै पनि उल्लङ्घनको कडा जवाफ दिनेछ।’
यसअघि दक्षिण कोरिया भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका थिए, ‘कुनै पनि कुरा युद्धविरामलाई जोखिममा पार्ने छैन।’ तर उनले जोडे, ‘जब इजरायली सैनिकहरूलाई निशाना बनाइन्छ, इजरायलले त्यसको उचित जवाफ दिनुपर्छ।’
२० दिनअघि इजरायल र हमासबीच युद्धविराम सम्झौता भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेप्टेम्बर २९ मा नेतान्याहूको उपस्थितिमा २० बुँदे शान्ति योजना प्रस्तुत गरेका थिए, जसमा हमासले अक्टोबर ९ मा सहमति जनाएको थियो ।
७ अक्टोबर २०२३ देखि सुरु भएको यो तनावका कारण गाजामा मात्रै ६७ हजारभन्दा बढी मानिस मारिएका छन् ।