• २०८३ जेठ २२
  • 2026 June 05, Friday

अनलाइनबाटै यसरी सच्याउनुस् मतदाता नामावलीमा भएको त्रुटी, फेर्नुस् मतदान केन्द्र

निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावलीमा नयाँ नाम दर्ता गर्न, विवरणमा भएका त्रुटी सच्याउन र मतदान केन्द्र सार्न सकिने व्यवस्था गरेको छ ।

यदि तपाईंको नाम पहिले नै मतदाता नामावलीमा दर्ता छ तर विवरणमा गल्ती छ भने सच्याउन सक्नुहुन्छ। त्यस्तै, बसाइँसराइ वा विवाहका कारण मतदान स्थल परिवर्तन गर्नुपर्ने भए पनि सार्न सकिनेछ ।

अब यी सबै काम अनलाइनबाट गर्न सकिन्छ ।

आफ्नो नाम मतदाता नामावलीमा भए/नभएको https://election.gov.np/np/page/voter-list-db बाट हेर्न सकिने छ । यसअघि मतदाता नामावलीमा नाम दर्ता भैसकेको भए पुनः दर्ता गर्नु पर्दैन ।

https://applyvr.election.gov.np/ मार्फत Pre-Enrollment गर्न सक्नुहुनेछ नामावलीमा रहेको त्रुटी सच्याउने तथा नामावली सार्ने सम्बन्धमा समेत सोही प्रणालीबाट आवेदन दिन सक्नुहुनेछ ।

यस्तो छ अनलाइनबाट सच्याउने वा सार्ने प्रक्रिया

निर्वाचन आयोगको आधिकारिक वेबसाइटमा जानुहोस् । “मतदाता नामावली प्रि-रजिष्ट्रेसन र अध्यावधिक” भन्ने विकल्पमा क्लिक गर्नुहोस् ।

त्यहाँ “नयाँ दर्ता” र “नामावली अद्यावधिक” भन्ने दुई विकल्प देखिन्छ । “नामावली अद्यावधिक” मा क्लिक गर्नुहोस् ।

त्यसपछि तपाईंले आफ्नो मोबाइल नम्बर हाल्नुपर्ने हुन्छ । त्यसपछि मोबाइलमा आएको ओटीपी (OTP) नम्बर हाल्दा तपाईंको नामावली विवरण देखिन्छ ।

त्यही नम्बर प्रयोग गरेर तपाईंले आफ्ना परिवारका सदस्यको विवरण पनि सच्याउन वा मतदान केन्द्र परिवर्तन गर्न सक्नुहुन्छ । त्यसका लागि “नयाँ अनुरोध” मा क्लिक गरेर सम्बन्धित व्यक्तिको मतदाता नम्बर र नागरिकता नम्बर वा जन्ममिति प्रविष्ट गर्नुपर्छ ।

त्यहाँ चारवटा विकल्प देखिन्छ–

अनुसूची–२: मतदाता नामावलीमा भएको त्रुटि सच्याउने।

अनुसूची–३: झुट्टा विवरण दिई नामावलीमा परेका व्यक्तिको उजुरी।

अनुसूची–४: दोहोरो नाम हटाउने।

अनुसूची–६: मतदाता नामावली सार्ने (ठेगाना परिवर्तन)।

यदि तपाईंको विवरणमा गल्ती छ भने अनुसूची–२, र मतदान केन्द्र सार्नुपर्ने भए अनुसूची–६ छनोट गर्नुहोस् ।

आवश्यक कागजात

सच्याउन वा सार्नका लागि तपाईंले सम्बन्धित सरकारी प्रमाणपत्र (जस्तै नागरिकता, विवाह प्रमाणपत्र, बसाइँसराइ प्रमाणपत्र) अपलोड गर्नुपर्छ।

फाइलको आकार ५०० केबी (KB) भित्र हुनुपर्छ।

यी सबै प्रक्रिया अनलाइनबाटै पूरा गर्न सकिन्छ, त्यसैले तपाईं निर्वाचन कार्यालय पुग्नु पर्दैन । निर्वाचन आयोगले यो सुविधा ३० कात्तिकसम्म खुला राखेको छ ।