• २०८३ जेठ २२
  • 2026 June 05, Friday

कात्तिक २१ गतेदेखि नास आईटी एक्सपो २०२५ हुँदै

काठमाडौं । नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनिज (नास आईटी) ले आउँदो कात्तिक २१ र २२ गते ’नास आईटी एक्सपो २०२५’ आयोजना गर्ने भएको छ ।

आइतबार पत्रकार सम्मेलनको आयोजनागरी उद्यमशीतालाई प्रवर्धन गर्नका लागि पहिलो पटक नास आईटी एक्सपो गर्न लागेको नास आईटीका अध्यक्ष गौरव पाण्डेले बताए ।

उनको अनुसार ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने एक्सपोमा विभिन्न आईटी सफ्टवेयर, प्रडक्ट र सेवाहरू प्रदर्शनीमा रहने छन् । स्थानीय प्रविधि र डिजिटल ’एक्सपोले नेपालको आईटी कम्पनी, नेतृत्व र लगानीकर्तालाई एउटै प्लेटफर्ममा ल्याएर सहकार्य अवसर र नवीनतम प्रविधिका सम्भावनाहरूमा केन्द्रित हुन सहयोग गर्नेछ,’ पाण्डेले भने ।

एक्सपोमा ३० बढी आईटी सेवा र प्रडक्टहरूको प्रदर्शनी रहने छ । एक्सपो अवलोकनकर्तालाई विशेष अफरको व्यवस्था समेत गरिएको नास आईटीले जनाएको छ । साथै कम्पनीहरूले आफ्ना नवीनतम डिजिटल समाधानहरू सार्वजनिक गर्न र लाइभ पिच सेसनमार्फत आफ्नो सोच देखाउने सक्ने छन् ।

एक्सपोमा उद्यमी, निजी तथा सरकारी क्षेत्रका उच्च अधिकारी, नीति निर्माता, लगानीकर्ता लगायत सूचना प्रविधिमा इच्छुकहरू आउने छन् । एक्सपो अवलोकन निःशुल्क गर्न सकिने छ ।

दुई दिनसम्म चल्ने कार्यक्रममा शीर्ष प्रायोजकमा टिग, सिल्भर प्रायोजकमा इसेवाका साथै र्यापिड, रिडक्ट, एनसेल बिजनेस, भायानेट कम्युनिकेसन र डेटा वल्र्ड लगायतको सहकार्य रहेको छ । कार्यक्रममा दिगो विकास साझेदारमा ग्लोबल आईएमई बैंक र अर्किङ कलेज रहेका छन् ।