चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चर्चित व्यक्ति भित्र्याउने नाममा नेतृत्वको आयात गर्न नसकिने धारणा सार्वजनिक गरेको छ।
कुलमान घिसिङ लगायतका व्यक्तिहरूलाई पार्टीमा ल्याउने विषयमा पटक–पटक आन्तरिक छलफल भइरहेको बेला रास्वपाले मूल नेतृत्वका रूपमा त्यस्ता व्यक्तिहरूलाई भित्र्याउन नसकिने स्पष्ट नीति लिएको हो।
चितवनको सौराहामा जारी विस्तारित बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै सभापति रवि लामिछानेको नेतृत्वलाई निरन्तरता दिनुपर्ने प्रस्ताव गरेका छन्।
अर्यालले भने, ‘पार्टी रिफर्म गर्नुपर्छ, चर्चित व्यक्तित्वलाई स्वागत गर्ने वातावरण बनाउनुपर्छ भन्ने कुरामा हामी सहमत छौं। तर ‘रिफर्म’ वा ‘स्वागत’ को बहानामा मूल नेतृत्व नै आयात गर्ने अघोषित नीति र त्यसअनुसारको प्रचार स्वीकार्य हुन सक्दैन।’
उनका अनुसार अहिलेको नेतृत्वलाई विस्थापित होइन, स्थापित गरेर जानुपर्ने समय आएको छ।
हाल रास्वपाका केही नेताहरू वैकल्पिक शक्तिका रूपमा उदाइरहेका समूह र व्यक्तिहरूसँग अनौपचारिक संवाद गर्दै आएका थिए। त्यस क्रममा कुलमान घिसिङ लगायतसँग छलफल भए पनि उनीहरूले नेतृत्वको दाबी गरेको चर्चा चल्दै गर्दा रास्वपाभित्र यसलाई अस्वीकार गर्ने धारणा औपचारिक प्रतिवेदनमार्फत तय गरिएको हो।
अर्यालले ‘पार्टी रिफर्मको आवाज र यथार्थ’ शीर्षकमा छुट्टै बुँदा राख्दै नेतृत्व निरन्तरताको प्रस्ताव प्रस्तुत गरेका छन्।