• २०८३ जेठ २५
  • 2026 June 08, Monday

जेनजी र युवा अभियन्ताहरूको एक स्वर-वैकल्पिक शक्ति र जेनजी अगुवा मिल

काठमाडौँ । जेनजीहरुको एक समूह र युवा अभियान्ताहरुले वैकल्पिक शक्ति मानिएका दल र जेनजी अगुवाहरू मिल्नुपर्ने मत राखेका छन् । जेनजी युवाहरू पुरुषोत्तम यादव, प्रवेश दाहाल, सुप्रीया शाही ठकुरी, सुजता जिसी, महेश जैसी, निरुता पौडेल, अबिन लिम्बू, टिकाराम लिम्बू, किरण लिम्बु, प्रकाश धामी र सुप्रसिद्ध सुवेदी तथा युवा अभियन्ताहरू सागर ढकाल, सोम शर्मा, अजय श्रेष्ठ, हेमराज थापा, विजय कँडेल, सुशान्त वैदिक, प्रज्वल पौडेल, निकुन्ज भण्डारी, डम्बर साहु, अतीत बाबु रिजाल र रिवाज शर्मा आचार्यले संयुक्त विज्ञप्ति जारी गर्दै वैकल्पिक शक्तिहरू र जेनजी अगुवाहरूलाई मिलेर एउटै मोर्चा बनाउन अपिल गरेका हुन् ।

“नयाँ सोच र नयाँ आत्मा बोकेका जेनजीलगायत वैकल्पिक शक्ति मानिएका दल र नेताहरू एक अर्कालाई स्विकार्न नसकी, छुट्टाछुट्टै बाटोमा लाग्दा जनताको विश्वास फेरि कमजोर बन्दै भएको छ, हामीलाई मूलधार भनिएका पुरानै दलबाट फेरि शासित हुनु र पुन पुरानै चक्रमा फर्किनु छैन,” विज्ञप्तिमा भनिएको छ, “त्यसैले अब सबै वैकल्पिक शक्ति र जेनजीका अगुवाहरू आफ्ना व्यक्तिगत वा सामूहिक हठ र स्वार्थ त्यागेर एउटै साझा मोर्चामा आएर छिन्नभिन्न रूपमा नभई एक मात्र सशक्त मूलधारको राजनीतिक शक्ति निर्माण गर्न जोडदार आह्वान गर्दछौँ ।”

उनीहरूले जेनजी आन्दोलनबाट प्राप्त उपलब्धि गुम्न सक्ने देखिएको भन्दै आन्दोलनरत पक्ष र राष्ट्रपतिबिच लिखित सम्झौताको खाँचो रहेको समेत औँल्याएका छन् । यस्तै, जेनजी आन्दोलनकारीहरूलाई अनावश्यक रूपमा थुनिएको र अभियोजन चलाइएको प्रति उनीहरूको असन्तुष्टि छ ।

यसबाहेक, सरकारले विदेशमा रहने नेपालीहरूको मतदान, बेजिल्ला मतदान र नो भोटिङसहितको निर्वाचन व्यवस्था सुनिश्चित गर्नुपर्ने उनीहरूको माग छ ।