• २०८३ जेठ २५
  • 2026 June 08, Monday

राष्ट्रिय सभा खारेजीको कुरा उठिरहेको छ, हामीले काम गरेर देखाउनु छ: अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले निर्वाचनको वातावरण बनाउनका लागि समस्याहरुलाई समाधान गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् । आइतबार विधायन व्यवस्थापन समितिको बैठकमा भएको समितिको वार्षिक प्रतिवेदनमाथिको छलफलमा उनले चुनावको वातावरण बनाउने कुरामा कानून मन्त्रीलाई निर्देशनात्मक तरिकाले अनुरोध गरेको भन्दै चुनावको लागि सहज वातावरण बनाउन छलफल गरेर जाँदा राम्रो हुने बताएका हुन् ।

उनले भने, ‘अर्को चुनावको वातावरण बनाउने कुरामा कानून मन्त्रीलाई निर्देशन नै दिइएको छ । यसमा सरकारको ध्यान जानुपर्छ निर्वाचनको वातावरण बनेको छैन । अलि असहज छ । मुख्य सुरक्षाको कुरा आएको छ, यसको बारेमा सरकारले छिटोभन्दा छिटो काम गर्नुपर्छ भन्ने खालको निर्देशनात्मक तरिकाले अनुरोध गरेका छौं । त्यसकारण चुनाव हुन्छ नै भनौँ । त्यसका लागि कुन ठाँउमा समस्या छ, त्यसलाई समाधान गर्ने, सचेत गराउने र सरकारलाई झकझकाउने विषयमा छलफल गरेर जाँदा राम्रो हुन्छ ।’

यस्तै, उनले राष्ट्रिय सभाको निर्वाचनका बारेमा पनि सरकार तयार भइसकेको भन्दै निर्वाचन हुन्छ नै, त्यसमा दुविधा नरहेको बताए । उनले भने, ‘राष्ट्रिय सभाको निर्वाचनको बारेमा सरकार तयार भइसकेको छ । धेरैसँग छलफल भएर नै त्यो निर्णय भएको हो । निर्वाचन हुन्छ नै, त्यसमा दुविधा छैन्, जटिल पनि छैन ।’

राष्ट्रिय सभालाई खारेज गर्नुपर्ने कुराहरु पनि उठिरहेको अवस्थामा राष्ट्रिय सभा राम्रो छ र यसले काम पनि गर्छ भन्ने कुरा पनि देखाउन जरुरी रहेको उनको भनाई छ ।