• २०८३ जेठ २५
  • 2026 June 08, Monday

रामकुमारी झाँक्रीको राजनीति : घुमिफिरी रुम्जाटार !

काठमाडौं । नेकपा माओवादी केन्द्रसहितको एकता प्रक्रियामा असहमति जनाएका विघटित नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतका नेताहरू नेकपा एमालेमा समाहित भएका छन् ।

सोमबार काठमाडौंको राष्ट्रिय सभा गृहमा एमालेले आयोजना गरेको ‘घर फर्क अभियान राष्ट्रिय घोषणा सभा’ कार्यक्रममार्फत उनीहरू एमालेमा समाहित भएका हुन् । कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टीको झण्डासहित खादामाला लगाएर पार्टीमा स्वागत गरे ।

विगतको त्यो रापिलो दृश्य

समयको चक्का पाँच वर्ष पछाडि घुमाऔं। साल थियो २०७७, महिना माघ। तत्कालीन प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि सडक तातेको थियो। त्यही आन्दोलनको रापमा एउटा दृश्य निकै चर्चित बन्यो। नेकपाको प्रचण्ड–माधव पक्षको आमसभामा नेतृ रामकुमारी झाँक्री मुखमा कालो टेप टाँसेर मञ्चमा उक्लिएकी थिइन्।

त्यो कालो टेप केवल टेप थिएन, सरकारप्रतिको मौन विद्रोह थियो। मञ्चबाट टेप उक्काउँदै उनी गर्जिएकी थिइन्, ‘बोल्न पाइन्छ’ ओलीलाई ‘कागजको बादशाह’ को संज्ञा दिएर उनले प्रतिगमनविरुद्ध बुलन्द आवाज उठाएकी थिइन्। उनको त्यो आक्रोश र विद्रोही शैलीले राजनीतिक वृत्तमा राम्रै तरंग ल्याएको थियो ।

नदीले बगर छाडेझैँ समयक्रममा राजनीतिले कोल्टे फेर्‍यो। सर्वोच्चले नेकपालाई पूर्ववत् एमाले र माओवादीमा फर्काइदियो। त्यसपछि पनि झाँक्रीको विद्रोह रोकिएन। माधव नेपालले एमाले फुटाएर नेकपा (एकीकृत समाजवादी) बनाउँदा उनी नेपालको सबैभन्दा भरपर्दो सारथि बनिन्। जब ‘दश भाइ’ हरूले माधव नेपालको साथ छाडे, झाँक्री ढाल बनेर उभिइन्।

तर, राजनीतिको नदी सधैँ एकै बगरमा बग्दैन। एकीकृत समाजवादीबाट मन्त्री बनेकी उनलाई पार्टीले हठात् फिर्ता बोलाएपछि सम्बन्धमा चिसोपना सुरु भयो। पार्टी महाधिवेशनमा उपाध्यक्षमा पराजित भएपछि त उनको मोहभंग नै भयो। अन्ततः, जुन पार्टी बनाउन उनी खम्बा बनेर उभिइन्, त्यही घर छाडेर हिँड्ने निर्णयमा पुगिन्।

घुमिफिरी रुम्जाटार !

सोमबार राजधानीको राष्ट्रिय सभागृहमा माहोल फरक देखियो। हिजो जोसँग पानी बाराबारको सम्बन्ध थियो, आज उनैको हातबाट पार्टी प्रवेशको टीका थापिन् रामकुमारी झाँक्रीले। केपी शर्मा ओलीले मुस्कुराउँदै झाँक्रीको शिरमा ‘लालफेटा’ बाँधिदिए र पार्टीको झन्डा हस्तान्तरण गरे।

हिजो जसको विरोधमा मुखमा कालो टेप टाँसेकी थिइन्, आज उनैले पहिऱ्याइदिएको लालफेटा सहर्ष स्वीकारिन्। हिजो जसलाई ‘प्रतिगमनको प्रतीक’ भनिन्, आज उनैलाई ‘कम्युनिस्ट आन्दोलनको मूल प्रवाह’ मान्न आइपुगिन्। यतिबेला झाँक्रीको राजनीतिक यात्राले एउटा रोमाञ्चक मोड लिएर पुरानै घरमा विश्राम लिएको छ।