• २०८३ जेठ २५
  • 2026 June 08, Monday

रामकुमारी झाँक्री भन्छिन्– जेनजी आन्दोलनमा रोटी सेक्नेहरू एमालेका विरुद्धमा छन्

आफूले विगतमा लिएका निर्णय र दिएका अभिव्यक्तिका कारण सामाजिक सञ्जालमा ट्रोल हुन सक्ने स्वीकार्दै उनले भनिन्, ‘त्यो कालखण्डमा भएका कुराहरु त्यतिबेला मलाई ठीक लागेका थिए। अब के भए ती ? म भविष्य र समयलाई नै त्यसको प्रमाणित गर्ने जिम्मा दिन्छु। मबाट भएका कुराहरुको सजाय भोग्न पनि म तयार छु।’

काठमाडौं । नेकपा एमालेमा फर्किएकी नेतृ रामकुमारी झाँक्रीले पछिल्लो समय ‘जेन–जी’ पुस्ताको नाममा भएका आन्दोलनमा विभिन्न पक्षले राजनीतिक रोटी सेकेको आरोप लगाइन्। उनले ती आन्दोलनहरू नितान्त सरकारविरुद्धको प्रहार भएको र त्यसले समाजलाई गलत दिशामा लगिरहेको बताइन्।

मन्तव्यको सुरुवातमा झाँक्रीले आफू र आफूजस्तै विभिन्न समयमा कम्युनिस्ट आन्दोलनको मूलप्रवाहबाट बाहिरिएका सबैका लागि यो ‘घर फर्क’ अभियान भएको बताइन्। उनले भनिन्, ‘हामी कुनै शर्तसहित होइन, अनकन्डिसनल रूपमा नेपालको कम्युनिस्ट आन्दोलनको मूलप्रवाह नेकपा एमाले नै हो भनेर यसमा समाहित हुन आएका हौँ।’

उनले चार वर्षअघि फरक परिस्थितिमा पार्टीबाट अलग भए पनि अहिले राष्ट्रिय शक्ति निर्माणको अभियानमा सामेल हुन आफ्नै पहलकदमीमा फर्किएको स्पष्ट पारिन्।

झाँक्रीले हालैका प्रदर्शनहरूलाई लक्षित गर्दै भनिन्, ‘जेन–जी आन्दोलन एउटा पुस्ताको आक्रोश थियो, त्यो सामान्य कुरा थियो। तर त्यसमा रोटी सेक्नका लागि सरकारका विरुद्ध जुन–जुन तत्वहरु सामेल भए, आज फर्केर हेर्दा जेन–जी आन्दोलन भर्सेस नेकपा एमाले र त्यसको नेतृत्व उभिएको छ।’

उनले माओवादी, कांग्रेसको एक हिस्सा, राप्रपा, रास्वपा लगायतले आन्दोलनको स्वामित्व खोजिरहेको बताउँदै प्रश्न गरिन्, ‘सिंहदरबार, सर्वोच्च अदालत र संसद भवन जलाउने कुरालाई उनीहरुले कसरी जस्टिफाइ गर्छन् ? आफ्नो छोराछोरी र भावी पुस्तालाई के जवाफ देलान् ?’

आफूले विगतमा लिएका निर्णय र दिएका अभिव्यक्तिका कारण सामाजिक सञ्जालमा ट्रोल हुन सक्ने स्वीकार्दै उनले भनिन्, ‘त्यो कालखण्डमा भएका कुराहरु त्यतिबेला मलाई ठीक लागेका थिए। अब के भए ती ? म भविष्य र समयलाई नै त्यसको प्रमाणित गर्ने जिम्मा दिन्छु। मबाट भएका कुराहरुको सजाय भोग्न पनि म तयार छु।’

उनले नेकपा (एमाले) नै जनताको रक्षक शक्ति भएको दाबी गर्दै भनिन्, ‘जसका व्यवसायिक प्रतिष्ठान जले, घर जले, सार्वजनिक सम्पत्तिमा क्षति भयो, ती सबै मानिसले आज नेकपा (एमाले) खोजिरहेका छन्।’

उनले विभिन्न पार्टीमा अलमलिएर बसेका सबै वामपन्थी, प्रगतिशील र परिवर्तनकारी शक्तिहरूलाई एमालेमा आउन आह्वान गरिन्। ‘तपाईंहरुलाई घर फर्कन परेन, एमालेमा आउनुस्। पार्टीले सबैका लागि ढोका खुला गरेको छ,’ उनले भनिन्, ‘यो अभियान त्यतिबेला अन्त्य हुनेछ, जतिबेला सबै पोटेन्सियल मान्छेहरु नेकपा एमालेमा सामेल भइसक्नुहुनेछ।’