काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले संघीय, प्रदेश र स्थानीय तहबीचको विधायिकी समन्वय तथा अन्तरसम्बन्धको अध्ययन गर्न सुदूरपश्चिम प्रदेशमा जाने निर्णय गरेको छ ।
मंगलबार सिंहदरबारस्थित समितिको सभाकक्षमा बसेको बैठकपछि समितिका सभापति तुलसा कुमारी दाहालले उक्त जानकारी दिँदै, तीन तहबीच कानुनी समन्वयमा देखिएका जटिलता तथा व्यवहारिक चुनौतीबारे प्रदेशमा प्रत्यक्ष अध्ययन आवश्यक रहेको बताइन् ।
‘संघीय इकाइबीचको विधायिकी अन्तरसम्बन्ध विषयमा प्रदेश र स्थानीय तहमा प्रत्यक्ष अध्ययन गर्नका लागि सुदूरपश्चिम प्रदेशमा जाने निर्णय गरेका छौं,’ सभापति दाहालले भनिन् । बैठकले अध्ययन भ्रमणको मिति भने कार्यपरामर्श समितिले तोक्ने जनाएको छ ।
कार्यपरामर्श समिति बुधबार बस्ने निर्धारित भएको छ । सो अवसरमा समितिको वार्षिक प्रतिवेदनसम्बन्धी विषयमा पनि छलफल भएको समितिले जनाएको छ । समितिले अध्ययनपछि प्रतिवेदन तयार पारेर संबन्धित निकायलाई आवश्यक सुझावसमेत दिने तयारी गरेको छ ।