काठमाडौं । लोकतान्त्रिक जेन्जी फोरम गठन गरिएको छ।
राष्ट्रियता, लोकतान्त्रिक मूल्य–मान्यता, समावेशिता, सङ्घीयता, लोकतान्त्रिक गणतन्त्र, प्रेस स्वतन्त्रता, नागरिक सर्वोच्चता र स्वतन्त्र न्यायपालिका लगायत लोकतन्त्रका मूल आधार स्तम्भहरूलाई जुनसुकै बहानामा हुने आक्रमण र षड्यन्त्रविरुद्ध उभिँदै लोकतन्त्रप्रति आस्था राख्ने सम्पूर्ण जेन–जेड युवालाई एकिकृत गर्न फोरम गठन गरिएको बताइएको छ।
फोरमले हिजोका दिनमा भएका कमीकमजोरीको समीक्षा गर्दै, आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएको छ। लोकतन्त्रलाई थप विकसित र परिस्कृत बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिएको छ।
जारी विज्ञप्तिमा देशको प्राथमिकतामा उद्यमशीलतालाई प्रोत्साहन दिँदै उत्पादनका माध्यमबाट युवालाई रोजगारी सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ।
फोरमले अराजकता, आगजनी, हिंसा र घृणाको राजनीति होइन, सामाजिक सद्भाव, सहकार्य, शान्ति, एकता, सहिष्णुता र आपसी मेलमिलाप आजको आवश्यकता भएको जनाएको छ।
भ्रष्टाचारविरुद्ध कठोर कारबाहीको माग गर्दै फोरमले भनेको छ, भ्रष्टचारी जोसुकै भए पनि नेपालको कानुनअनुसार छानबिन गरी कडा कारबाही गर्नुपर्छ।
त्यसैगरी, फोरमले वर्तमान सुशिला कार्की नेतृत्वको सरकारलाई निर्वाचनको वातावरण सुनिश्चित गर्न आग्रह गरेको छ। भागेका कैदी र लुटिएका हातहतियार नियन्त्रणमा लिएर स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनका लागि पहल गर्न माग गरिएको छ।
फोरमको २०८२ असोज २६ गतेको निर्णय अनुसार, लोकतन्त्रमा विश्वास गर्ने नेपाली जेन–जेड युवाहरूलाई एकताबद्ध गर्दै देशभरका युवाको आवाजलाई संगठित गर्ने उद्देश्यसहित सातै प्रदेशका संयोजक सर्वसम्मत चयन गरिएको छ।
सात प्रदेशका संयोजकहरू यसप्रकार छन् :
कोशी प्रदेश : पोषण आचार्य (मोरङ)
मधेश प्रदेश : सागर यादव (धनुषा)
बागमती प्रदेश : रिजा थापा (ललितपुर)
गण्डकी प्रदेश : सागर पौडेल (कास्की)
लुम्बिनी प्रदेश : किरण पाठक (रुपन्देही)
कर्णाली प्रदेश : सुजिता रोकाया (सुर्खेत)
सुदूरपश्चिम प्रदेश : दीपक पाठक (महेन्द्रनगर)