• २०८३ जेठ २५
  • 2026 June 08, Monday

ओलीको ‘वृद्धाश्रम’ टिप्पणीप्रति प्रचण्डको जवाफ : ‘हत्या गर्नेले हामीलाई अपमान गरे’

‘एमालेको अहिलेको नेतृत्वले मदन भण्डारीलाई बदनाम गर्ने, उहाँको परिवारलाई अपमान गर्ने कोशिश गरिरहेको छ,’ प्रचण्डले भने, ‘पूर्वराष्ट्रपति तथा मदन भण्डारीकी जीवनसंगिनी विद्या भण्डारीकै अगाडि एमाले नेतृत्वले मदन भण्डारीलाई सहकारीको ठगीको आरोप लागेको थियो, चारवटा विवाह गरेको आरोप लागेको थियो भनेर अपमान गर्न खोजे। यो भन्दा अपमान अरु हुन सक्छ?’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीलाई वृद्ध आश्रम भनेकोप्रति असन्तुष्टि जनाएका छन्।

नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियान नेपालबीचको पार्टी समायोजन कार्यक्रममा बोल्दै जेनजी युवाहरूले शान्तिपूर्ण आन्दोलन गर्दा हत्या गर्नेले आफूलाई वृद्ध आश्रम भनेको भन्दै आक्रोश पोखे।

ओलीले सोमबार एक कार्यक्रममा बोल्दै नेकपालाई वृद्धाश्रमसँग तुलना गरेका थिए।

त्यसको जवाफमा प्रचण्डले भने, जेनजी युवाहरू भ्रष्टाचारविरुद्ध, सुशासनको पक्षमा शान्तिपूर्ण आन्दोलन गर्दा निर्मम दमन र हत्या गर्नेहरूले अहिले हामीलाई वृद्धाश्रम भन्छन्, जसले युवाहरूलाई सम्मान गरेको छ।

प्रचण्डले विद्या भण्डारीलाई पार्टी सदस्यता नदिने एमाले मदन भण्डारीको हुन नसक्ने पनि बताए। उनले एमालेको वर्तमान नेतृत्वले मदन भण्डारीलाई बदनाम र अपमान गरिरहेको बताए।

‘एमालेको अहिलेको नेतृत्वले मदन भण्डारीलाई बदनाम गर्ने, उहाँको परिवारलाई अपमान गर्ने कोशिश गरिरहेको छ,’ प्रचण्डले भने, ‘पूर्वराष्ट्रपति तथा मदन भण्डारीकी जीवनसंगिनी विद्या भण्डारीकै अगाडि एमाले नेतृत्वले मदन भण्डारीलाई सहकारीको ठगीको आरोप लागेको थियो, चारवटा विवाह गरेको आरोप लागेको थियो भनेर अपमान गर्न खोजे। यो भन्दा अपमान अरु हुन सक्छ ?’

यसैगरी, प्रचण्डले पार्टी एकतालाई राष्ट्र बचाउने ऐतिहासिक आवश्यकता भएको बताए। उनले देश अहिले असाधारण संकटमा परेको पनि बताए । दाहालले भने, ‘आज हामी १० घटकदेखि १२ घटक भएका छौं । तर अझै केही समयपछि यो घटकहरूको संख्या बढ्दै जानेछ भन्ने विश्वास म व्यक्त गर्न चाहन्छु। यो एकीकरण हुँदै जाने हो भने नेपालमा अरु पार्टी नै नरहने हुन् कि भन्ने लागिरहेको छ । यो एकता प्रक्रियालाई देशले बढो गम्भीर रूपमा हेरिरहेको छ । देश अहिले असाधारण संकटमा छ।’

उनले आज भएको समायोजनले एकता प्रक्रियालाई सापेक्षित रूपमा पूर्णतातिर अघि बढाएको बताए। ‘यसले देशभित्र मात्रै होइन, देश बाहिर रहेका स्वाभिमानी नेपाली नागरिकहरूमा पनि नयाँ आत्मविश्वास र ऊर्जा दिएको छ,’ प्रचण्डले भने।

उनले यो एकता कुनै चुनाव जित्ने उद्देश्यका लागि नभई राष्ट्र र जनताको रक्षा गर्नुपर्ने वस्तुगत आवश्यकता भएकाले गरिएको स्पष्ट पारे। ‘यो एकता राष्ट्र बचाउनुपर्ने ऐतिहासिक आवश्यकता हो,’ प्रचण्डले भने, ‘त्यही कारण हामीले एकता प्रक्रिया अघि बढाएका हौं।’

साथै, उनले नेपालको राष्ट्रिय स्वाधिनता, नेपाली जनताको आत्मसम्मान, नेपालको भौगोलिक अखण्डता, नेपाली जनताको आत्मनिर्णयको अधिकार, आफ्नो बारेमा फैसला आफैंले गर्न पाउने अधिकार रक्षाका लागि एकता गर्न आवश्यक रहेको बताए।

उनले भने, ‘नेपालको राष्ट्रिय स्वाधिनता, नेपाली जनताको आत्मसम्मान, नेपालको भौगोलिक अखण्डता, नेपाली जनताको आत्मनिर्णयको अधिकार, आफ्नो बारेमा फैसला आफैंले गर्न पाउने अधिकार रक्षा गर्नुपर्ने छ। इतिहासमा यस्तो संकटमा कहिले देश परेको थिएन।’