• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

को हुन् एनपीएलका ८ टोलीका मालिक ? कति छ लगानी ?

काठमाडौँ । नेपाल क्रिकेट संघद्वारा सञ्चालित नेपाल प्रिमियर लिग (एनपीएल) मा २०२४ मा ८ फ्रेन्चाइज टिमको लिलामी सम्पन्न भएको थियो। यस लिलामीबाट जम्मा १६ करोड ८८ लाख रुपैयाँ उठाइएको थियो । यो नेपाली क्रिकेट इतिहासमा सबैभन्दा ठूलो निजी लगानी मानिन्छ। २०२५ सिजनमा पनि यी टिमका मालिकहरू २०२४ का मालिकहरू उनै नै  रहने छन्, जसले नेपाली क्रिकेटमा दीर्घकालीन निजी लगानीको संकेत दिन्छ।

काठमाडौँको प्रतिनिधि टिम काठमाडौँ गोर्खाज, काठमाडौँ स्पोर्टस डेभलपमेन्ट भेन्चरको नेतृत्वमा छ, जसका व्यक्तिगत लगानीकर्ता उपेन्द्र महतो, कैलाश सिरोहिया र अरुण सराफ हुन् ।

पोखराको टोली पोखरा एभेन्जर्स , पोखरा एभेन्जर्स नेपाल प्रालिले किनेको छ, जसका लगानीकर्ता सुबोध त्रिपाठी र मनोबल श्रेष्ठ हुन् । यो सबैभन्दा महँगो फ्रेन्चाइज बनेको थियो।

जनकपुरबाट आएको  जनकपुर बोल्टस्, जनकपुर बोल्टस् ड्रिम स्पोर्टस प्रालि द्वारा सञ्चालित छ, जसका लगानीकर्ता अमित श्रेष्ठ हुन्।

लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने लुम्बिनी लाइन्स, लुम्बिनी लाइन्स फर्चुना हेल्थ केयर प्रालिको फ्रेन्चाइज हो, जहाँ ईश्वर जीसी प्रमुख लगानीकर्ता छन्।

चितवनबाट आएको चितवन राइनोज, चितजन मेडिकल कलेजद्वारा सञ्चालित छ । यसका व्यक्तिगत लगानीकर्ता हरिश्चन्द्र न्यौपाने र आयुष न्यौपाने हुन्।

सुदूरपश्चिम क्षेत्रको टिम सुदूरपश्चिम रोयल्स, सुदूरपश्चिम रोयल्स एम्पायर स्पोर्टस म्यानेजमेन्ट प्रालि द्वारा सञ्चालित छ । स्वतन्त्र प्रपात शाह यसका प्रमुख लगानीकर्ता हुन्।

कोशी प्रदेशको प्रतिनिधित्व गर्ने विराटनगर किंग्स, विराटनगर किंग्स एमएडी ड्रिम स्पोर्टस प्रालिको नाममा छ । पारस लुनिया यसका मुख्य लगानीकर्ता छन्।

सबैभन्दा कम मूल्यमा किनिएको कर्णाली याक्स, हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्स प्रालिको टिम हो। यसका लगानीकर्ता गृहेन्द्र घिमिरे र झनकदत्त खनाल हुन्।

नेपाल क्रिकेट संघका अनुसार २०२४ को लिलामी पहिलो वर्षको आधार मूल्यका लागि मात्र थियो। २०२५ सिजनमा टिमहरूले फ्रेन्चाइज नवीकरण शुल्क, सञ्चालन खर्च र खेलाडी, स्टाफ, ब्रान्डिङमा थप निजी लगानी गर्ने सम्भावना छ। संघले एनपीएललाई ५ वर्षे स्थायी फ्रेन्चाइज मोडेलमा लैजाने तयारी गरेको छ।

एनपीएलमा प्रवेश गरेका मालिकहरू स्वास्थ्य, मिडिया, होटल र खेल व्यवस्थापन क्षेत्रका प्रतिष्ठित व्यवसायी हुन्। ८ टिमका स्थायी मालिकहरूले नेपाली क्रिकेटमा निजी क्षेत्रको विश्वास र दीर्घकालीन लगानी सुनिश्चित गरेका छन्। यसले एनपीएललाई दक्षिण एसियामा उदीयमान फ्रेन्चाइज लिग बन्ने बाटो खोल्ने संकेत गरेको छ ।