• २०८३ जेठ २५
  • 2026 June 08, Monday

विशेष महाधिवेशनतर्फ गगन–विश्वप्रकाशको पहल, शेखर कोइरालासँग संवादको तयारी

काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनका विषयमा अन्तिम प्रयास असफल भएपछि संस्थापन पक्षविरुद्ध आवाज उठाउँदै आएका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले अब आफ्नो एजेन्डामा सहमति मिल्न सक्ने सबै पक्षसँग संवाद सुरु गरेका छन् ।

नियमित महाधिवेशनका लागि केन्द्रीय समितिमा गरेको प्रयास ‘चार भाई’ समूहले नमान्दै अवरुद्ध भएपछि गगन–विश्वप्रकाशले विशेष महाधिवेशनलाई अब निर्विकल्प विकल्पका रूपमा प्रस्तुत गरेका हुन् । पार्टीभित्र निर्णय प्रक्रिया रोकिएको र नेतृत्व अनिर्णयमा रहेको भन्दै उनीहरूले विशेष महाधिवेशनलाई ‘संस्थागत स्थिरताको मार्ग’का रूपमा अघि सारेका छन्।

यता, विशेष महाधिवेशनले पार्टी फुट्ने सम्भावना रहेको बुझाइ राख्दै आएका नेता डा. शेखर कोइरालाले पनि शनिबारदेखि खुलेरै केन्द्रीय समितिले निर्णय गरेर विशेष महाधिवेशन गर्नुपर्ने धारणा सार्वजनिक गरिसकेका छन् ।

डा. कोइरालाको पछिल्लो अभिव्यक्तिपछि अब महामन्त्री गगन थापा र नेता कोइरालाबीच औपचारिक भेटघाट हुन लागेको कांग्रेस स्रोतले जनाएको छ ।

पार्टीभित्र लामो समयदेखि जारी संरचनागत विवाद, नेतृत्वको निर्णयहीनता र निष्ठावान कार्यकर्ताको असन्तुष्टिलाई समेटेर समाधान खोज्ने उद्देश्यले यी शीर्ष नेताहरू संवादमा उत्रिन लागेको बताइएको छ।