• २०८३ असार १६
  • 2026 June 30, Tuesday

गगन थापा भन्छन्– सत्यको पक्षमा उभिँदा पार्टी फुट्दैन, अझ बलियो बन्छ

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्यको पक्षमा उभिँदा पार्टी नफुट्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा मंगलबार भिडियो सन्देश जारी गर्दै महामन्त्री थापाले भनेका छन्, ‘सत्यको पक्षमा उभिँदा पार्टी फुट्दैन, अझ बलियो बन्छ।’

उनले कांग्रेसभित्र अहिलेको बहस अधिवेशनको मिति होइन, पार्टी सुधारको दिशाबारे भएको बताए। उनले नागरिकले पुरानो शैलीले काम नचल्ने स्पष्ट सन्देश दिएको पनि उल्लेख गरेका छन्।

‘अहिले भित्र बहस भइरहेको कुरा अधिवेशन चुनाव अगाडि कि पछाडि भन्ने होइन, पार्टी रूपान्तरण गर्ने कि नगर्ने भन्ने कुरा हो,’ महामन्त्री थापाले भने, ‘गलत निर्णय हुन दिँदैनौं, यसपटक हामी न झुक्छौं, न झुकिन्छौं।’

पार्टीमा सुधार गरे विश्वास फर्किने उनको भनाइ छ । ‘नागरिकले दिएको सन्देश स्पष्ट छ पुरानै शैलीले अब काम चल्दैन। सुधार गरेर मात्र विश्वास फर्किन्छ,’ थापाले भनेका छन्। उनले नेता कार्यकर्तालाई धैर्य राख्न अनुरोध गर्दै नयाँ ऊर्जा र सुधारिएको कांग्रेसका साथ निर्वाचनमा जाने बताएका छन्।