• २०८३ जेठ २५
  • 2026 June 08, Monday

सुदन गुरुङको आक्रोशः ‘लोप्पा’ सहेर कुर्सीमा बस्न सुहाउँछ, गृहमन्त्रीज्यू ?

काठमाडौं । हामी नेपाली अभियानका संयोजक सुदन गुरुङले ‘काटमार’को अभिव्यक्ति दिनेहरूले खुलेआम चुनौती दिँदा पनि सरकार मूकदर्शक बनेको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालमाथि कडा आक्रोश पोखेका छन्।

सरकारले ‘सानालाई ऐन र ठूलालाई चैन’ दिने खालको विभेदकारी व्यवहार देखाएको गुनासो गर्दै गुरुङले शान्तिपूर्ण विरोधमा उत्रिएका युवाहरूको टाउकोमा ताकेर गोली हान्नेहरूलाई पक्राउ गरी कारबाही गर्ने आँट गृहमन्त्रीले देखाउन नसकेको आरोप लगाए।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै गुरुङले भनेका छन्, ‘दुर्गा प्रसाईंभन्दा धेरै भड्काउ र काटमारको अभिव्यक्ति दिनेहरू सरकारलाई खुलेआम चुनौती दिँदै हिँडेका छन् । शान्तिपूर्ण विरोध गर्ने युवाहरूको टाउकोमा ताकेर गोली हान्नेहरू पनि तिनै हुन् । तर, गृहमन्त्रीसँग तिनलाई त्यसरी नै समातेर छानबिन गर्ने र कारबाही गर्ने आँट देखिएन ।’

आफूलाई संविधानविद् भनेर चिनाउने गृहमन्त्री अर्यालप्रति लक्षित गर्दै गुरुङले प्रश्न गरेका छन्, ‘संविधानको कुन धारामा ‘सानालाई ऐन र ठूलालाई चैन’ लेखिएको छ ? यदि विधिको शासन लागू हुँदैन भने पुरानो शासन र अहिलेको व्यवस्थामा के फरक भयो गृहमन्त्रीज्यू ?’

शक्तिशाली व्यक्तिहरूले सरकारलाई टेरपुच्छर नलगाएको सङ्केत गर्दै उनले अगाडि लेखेका छन्, ‘शक्तिशालीहरू खुलेआम ‘लोप्पा’ खुवाउँदै हिँडिरहेका छन्। त्यो लोप्पा स्वीकार गर्दै कुर्सीमा टाँसिएर बस्न कत्तिको सुहाउँछ ?’

उनले न्याय खोजिरहेका मृतक र घाइतेहरूको उचित सम्बोधन नभएसम्म र सबै नागरिकलाई समान न्यायको प्रत्याभूति नभएसम्म चुनाव सम्भव नहुने चेतावनी समेत दिएका छन् ।