• २०८३ जेठ २५
  • 2026 June 08, Monday

बारामा कर्फ्यु लागेपछि महेश बस्नेतको आक्रोश– हे कठपुतली सरकार, सुशासनको अझ कति खिल्ली उडाउने ?

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले आफ्नो भ्रमणको विरोधमा बारामा भएको प्रदर्शनपछि स्थानीय प्रशासनले लगाएको कर्फ्युप्रति आपत्ति जनाउँदै सरकारको सुरक्षा व्यवस्था र नियतमाथि गम्भीर प्रश्न उठाएका छन्।

पार्टी महासचिव शंकर पोखरेलसहित ‘मधेश जागरण सभा’का लागि सिमरा जान लाग्दा ‘जेनजी’ नामका युवाहरूले विमानस्थलमा प्रदर्शन र तोडफोड प्रयास गरेपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो। सोही घटनालाई लिएर बस्नेतले सामान्य घटनालाई नियन्त्रण गर्न नसकेर सरकारले नागरिकको मौलिक अधिकार हनन गरेको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै बस्नेतले लेखेका छन्, ‘‘जेन-जेड’ को नाममा विभिन्न दल-आवद्ध अराजक भिड उतारेर आन्दोलन गराउने र ५०–६० जना संलग्न त्यति सामान्य घटनालाई नियन्त्रण गर्न नसकेर कर्फ्यू लगाउनु नैतिकरूपमा गलत कार्य हो।’

उनले शान्तिपूर्ण रूपमा सभा–सम्मेलन गर्न पाउने र स्वतन्त्र विचार राख्न पाउने संवैधानिक अधिकारलाई सरकारले कुण्ठित गरेको टिप्पणी गरेका छन्। ‘दलहरूको गतिविधि रोक्ने सरकारले फागुन २१ मा चुनाव गराउँछु भनेर दाबी गर्नु हास्यास्पद देखिन्छ,’ बस्नेतले भनेका छन्।

सरकारलाई ‘कठपुतली’को संज्ञा दिँदै उनले लोकतन्त्र, विधिको शासन र सुशासनको खिल्ली उडाइएको आरोप लगाए। उनले थपे, ‘हे कठपुतली सरकार, लोकतन्त्र, विधिको शासन र सुशासनको अझ कति खिल्ली उडाउने हो? नियत स्पष्ट भइसकेको छ। जनता सबै बुझिसकेका छन्।’

यस्ता अवरोधबाट आफूहरू विचलित नहुने बताउँदै बस्नेतले लोकतन्त्र, कानुनी शासन र सुशासनको पक्षमा आफ्नो संघर्ष निरन्तर जारी रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसअघि, बस्नेतको विरोधमा भएको प्रदर्शनले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालय, बाराले जीतपुर सिमरा उपमहानगरपालिकाका केही क्षेत्रमा मध्यान्ह १२:३० देखि बेलुका ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो।