• २०८३ जेठ २५
  • 2026 June 08, Monday

प्रधानमन्त्रीलाई विश्वप्रकाश शर्माको प्रश्न– नेताहरूलाई भ्रमणको वातावरण नबनाए चुनाव कसरी हुन्छ ?

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेताहरूलाई भ्रमणको वातावरण नबनाए चुनाव कसरी हुन्छ ? भन्दै प्रश्न गरेका छन् ।

बुधबार एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतलाई बारामा हुने कार्यक्रममा जान जेनजी युवाहरूले अवरोध गरेपछि सरकारले लगाएको कर्फ्युको विरोध गर्दै महामन्त्री शर्माले सामाजिक सञ्जालमा लेखेका हुन् ।

शर्माले फेसबुकमा लेखेका छन् ‘सिमरा घटना दुःखद, प्रधानमन्त्रीज्युलाई ध्यानाकर्षण, एक फेरा भ्रमणको वातावरण नबनाए, चुनाव कसरी हुन्छ ?’

शर्माले एमाले चुनावको विपक्षमा उभिएको भएपछि चुनावमा आउन आग्रह गर्नुपर्ने उल्लेख गरेका छन् । आवेगका अभिव्यक्ति दिएमा संयम हुन आग्रह गर्नुपर्ने भएपनि आफ्ना कुरा राख्न हुने भ्रमण संविधान प्रदत्त अधिकार भएकाले रोक्न नमिल्ने शर्माले बताएका छन् ।

‘आवेगका अभिव्यक्ति दिएका छन् त, संयमले बोल्न भनौँ । तर आफ्ना कुरा राख्न कहीँ पनि भ्रमण गर्ने संविधान प्रदत्त अधिकार कसैको पनि कुण्ठित गर्न मिल्दैन । त्यसले झनै द्वन्द्व बढाउँछ, यो समय संयम र एकता राख्नुपर्ने समय हो,’ शर्माले लेखेका छन् ।

‘सामाजिक सञ्जाल निषेधविरुद्ध उभिने कसैको भ्रमण अधिकारविरुद्ध उभिन सक्दैनन् । अतः सिमरा घटना जेनजीको भावना होइन, त्यसको दुरुपयोग हो । निषेधको राजनीति कसैले नगरौँ,’ शर्माले लेखेका छन् ।