• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

गृहमन्त्री अर्याललाई सुधन गुरुङको ‘ज्वालामुखी’ चेतावनी: हाम्रो मौनता कमजोर नठान्नू

काठमाडौँ । कुनै समय सडक सङ्घर्ष र परिवर्तनको एजेन्डामा एउटै कित्तामा उभिएजस्तो देखिने ‘हामी नेपाल’का संस्थापक सुधन गुरुङ र वर्तमान गृहमन्त्री ओमप्रकाश अर्यालबीचको दूरी अब खुला द्वन्द्वमा परिणत भएको छ। पछिल्लो समय गृहमन्त्रीका कार्यशैलीप्रति निरन्तर असन्तुष्टि पोख्दै आएका गुरुङले सिमरा घटनालाई लिएर मध्यरातमा सरकारविरुद्ध कडा चेतावनी दिएका छन्।

‘द काउन्सिल अफ जेन-जी’ (The Council of Gen-Z) को ब्यानरमा सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै गुरुङले गृहमन्त्री अर्याललाई आफूहरूको धैर्य र मौनतालाई कमजोरी नठान्न चेतावनी दिएका हुन्। उनले सरकारको रवैया नसच्चिए जनआन्दोलनको ज्वालामुखी उठाउने घोषणा समेत गरेका छन्।

गुरुङको पछिल्लो आक्रोशको कारण ‘सिमरा घटना’ बनेको छ। गुरुङका अनुसार, सिमरामा आयोजित जेन-जी (Gen-Z) को शान्तिपूर्ण कार्यक्रममा अवरोध सिर्जना गरिएको थियो। उनले उक्त घटनामा नेकपा (एमाले) द्वारा परिचालित समूह प्रवेश गरी आफूहरूमाथि अपमान र कुटपिट गरेको गम्भीर आरोप लगाएका छन्।

‘हिजोको सिमरा घटना गृहमन्त्रीको लाचारीपनको पराकाष्ठा हो’, गुरुङले भनेका छन्, ‘देश प्रेमी भाइबहिनीहरूले शान्तिपूर्ण कार्यक्रम गर्दा एमालेका ‘गुण्डा’ पसेर कुटपिट गर्दा प्रशासन मूकदर्शक बन्यो।’ उनले आफ्ना दाजुभाइहरूलाई छोएर कसैलाई खेल्न नदिने भन्दै सरकारले सुरक्षा दिन नसकेकोमा आक्रोश व्यक्त गरे।

गुरुङले गृहमन्त्री अर्याललाई उनी कुन जगमा टेकेर मन्त्री क्वार्टरमा पुगे भन्ने कुराको स्मरण गराएका छन्। उनले गृहमन्त्रीले सडकको सङ्घर्ष, बगेको रगत र जेन-जी भाइबहिनीहरूको त्यागलाई बिर्सेको आरोप लगाए।

गुरुङले भने, ‘गृहमन्त्रीले आफू आन्दोलनको म्यान्डेटबाट र जेन-जीको बलिदानबाट कुर्सीमा पुगेको कुरा बिर्सिएको देखेर लाज पनि लजाइसक्यो। परिवर्तनका लागि लड्ने योद्धाहरू माथि कुटपिट हुँदा कानमा तेल हालेर, हात बाँधेर बस्ने हो भने त्यो कुर्सीको के काम?’

गृहमन्त्रीले भ्रष्टाचारी र हत्याराहरूलाई कारबाही गर्न नसकेको तर उल्टै न्याय माग्ने अभियन्ताहरूलाई पक्राउ गरेको भन्दै गुरुङले कडा आपत्ति जनाएका छन्। उनले यदि गृहमन्त्रीले राजीनामा नदिने र अपराधीलाई संरक्षण दिइरहने हो भने आफूहरूले सशक्त प्रतिकार गर्ने बताए।

खुला चुनौती दिँदै उनले भने, ‘यदि देश प्रेमी भाइबहिनीहरूलाई पक्राउ गरिन्छ भने म ‘मलाई पनि पक्राउ गर’ भन्ने राष्ट्रिय अभियान चलाउँछु। हत्याराहरू खुल्ला चुनौती दिँदै हिँड्ने र सरकार चुप बस्ने हो भने यो ज्वालामुखीको उभार ठूलो हुने वाला छ।’

विगत केही समययता सुधन गुरुङ गृहमन्त्री अर्यालविरुद्ध खरो रूपमा उत्रिँदै आएका छन्। सुरुवाती दिनमा परिवर्तनको आशा गरिएका पात्रका रूपमा हेरिएका अर्यालले सत्तामा पुगेपछि पुरानै दलको कार्यशैली अपनाएको गुरुङको बुझाइ छ।

गुरुङले अन्त्यमा भनेका छन्, ‘आज देखिएको प्रतिक्रिया त केवल एउटा झल्को मात्रै हो, के हुन सक्छ भन्ने कुराको हेक्का रहोस्। हाम्रो मौनतालाई कमजोरी नठान्नू।’