• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

एनपिएलमा फितलो व्यवस्थापन: पानी र शौचालय अभावले दर्शक हैरान

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण रोमाञ्चक खेलसँगै चर्चाको केन्द्र बनेको छ।

हालसम्म एनपिएलका चार खेल सकिएका छन्। उद्घाटन खेलमा काठमाडौँ विजयी बन्दा दोस्रो दिन भएको खेलमा चितवन  र विराटनगरले जित आफ्नो पोल्टामा पारेका छन्। दोस्रो दिनको चार खेल सकिँदासम्म मैदानमा शीतका कारणले खेल्नलाई कठिन भइरहेको केही खेलाडीहरूले नै बताइरहेका छन्।

मङ्गलबार बेलुका सम्पन्न खेलमा विराटनगरका कप्तान सन्दीप लामिछानेले पत्रकारहरूसँग कुरा गर्दै हालसम्म उनले खेलेका खेलहरूमा सबैभन्दा बढी शीत पर्ने मैदान टियु नै रहेको बताएका थिए।

ग्राउन्डभित्र खेलाडीहरूको प्रदर्शनले दर्शकलाई मोहित बनाइरहेका बेला, समर्थकहरूले भने व्यवस्थापन पक्षप्रति गुनासो अघि सारेका छन्। प्यारापिटमा पानी नपाइने, शौचालयको अभाव, उचित खानपान सेवा नहुँदा दर्शकहरूले असहजता भोग्नुपरेको भन्दै क्यानलाई तुरुन्त ध्यान दिन आग्रह गरेका छन्।

दर्शकहरूले खास गरी पानीको अत्याधिक अभावलाई गम्भीर समस्या बताइरहेका छन्। ग्राउन्ड वरिपरि घुम्दा बल्लतल्ल पानी पाइने अवस्था भएको र ‘मरुभूमिमा पानी भेटेजस्तो’ अनुभव भएको उनीहरूको भनाइ छ। ‘आज मात्रै यस्तो थाहा भयो, पानी कति महत्त्वपूर्ण रहेछ,’ एक समर्थकले भने।

त्यसैगरी, टिकटमा सिट नम्बर नलेखिएको हुँदा आफू बसिरहेको ठाउँमा एक छिन बाहिर जाँदा अरू आएर बसिदिँदा सोही ठाउँमा बस्न पाउने सुविधा , खानेकुराको सुविधा र फोहोर व्यवस्थापनसमेत कमजोर देखिएको उनीहरूको गुनासो छ।

अर्कोतर्फ व्यापारका लागि मैदानको सेरोफेरोमा बसिरहेका व्यापारीहरूले पनि यसपटकको क्यानको व्यवस्थापकीय रणनीति प्रति दुखेसो पोखेका छन्।

उनीहरूलाई मैदान बाहिरको माथिल्लो खण्डतिर बस्न लगाइएको, तर त्यहाँ मानिस नै नआउने हुँदा व्यापार गर्न बसेका स्टल सञ्चालकहरू पनि कठिनाइमा परेको बताएका छन्। ‘यदि क्यानले उचित स्थान तोकेर स्टलको व्यवस्था गरिदिने हो भने, फोहोर व्यवस्थापनदेखि व्यापारसम्म हामी आफैँ व्यवस्थित गर्न सक्छौँ,’ व्यापारीहरूले अनुरोध गरेका छन्।

समर्थकहरूले स्पष्ट रूपमा भनेका छन्, ‘कुनै पनि खेललाई जीवन दिने त समर्थक नै हुन्।’ दर्शकहरूको यही क्रेज र ऊर्जा नै एनपिएललाई ग्लोबल ब्रान्ड बन्दै जाने आधार बन्ने उनीहरूको विश्वास छ। त्यसैले भविष्यमा पनि उनीहरूको समर्पण जोगिन, आधारभूत सेवामा क्यानले थप ध्यान दिनुपर्ने उनीहरूको माग छ।

यसैबीच, सुरक्षा व्यवस्थालाई भने यसपालि अझ कडा बनाइएको छ। एनपिएलको दोस्रो संस्करणमा २३ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ। भीड व्यवस्थापन, आकस्मिक अवस्था नियन्त्रण र रंगशालाको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र तालिम प्राप्त सेकुरीटीसहितको संयोजनमा बलियो सुरक्षा घेराबन्दी लागू गरिएको छ।

चार खेल सकिँदासम्म खेलको रोमाञ्चकता, तीव्र प्रतिस्पर्धा, भरपुर दर्शक, यी सबैले एनपीएलको उचाइ बढाइरहेका छन्। तर, समर्थकहरूको असहजता समाधान गर्न आवश्यक ध्यान दिए मात्र यो लिग अझ सक्षम र व्यवस्थित ‘ब्रान्ड’को रूपमा स्थापित हुने अपेक्षा पनि उत्तिकै छ।