काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रिटमाथिको विहीबार निर्धारण गरिएको सुनुवाइ स्थगित भएको छ। उनका कानुन व्यवसायीले उच्च अदालत बुटवलमा सुनुवाइ स्थगन मागेपछि गोला प्रथाबाट परेको ३ नम्बर संयुक्त इजलासले सुनुवाइ नगर्ने निर्णय गरेको हो।
सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा थुनामा रहेका रवि लामिछाने र छविलाल जोशीको मुद्दा बिहीबारका लागि पेसी तोकिएको थियो। तर, लामिछानेको अर्को पेसी पाटन उच्च अदालतमा पनि परेको कारण वकिलले बुटवलमा सोही मितिमा बहस गर्न नसक्ने भन्दै समय मागेपछि सुनुवाइ सारिएको अदालत स्रोतले जनाएको छ ।
यसअघि कात्तिक २७ गते संयुक्त इजलासले सुप्रिम सहकारी ठगीसम्बन्धी सर्वोच्चमा रहेको मूल अभियोग मिसिल झिकाउन आदेश दिएको थियो।
कात्तिक २० गतेको अर्को आदेशमा पनि ठगीसम्बन्धी सुरु मिसिल मगाउन निर्देशन दिइएको थियो। जिल्ला अदालतबाट प्रतिलिपि आएपछि आजको पेसी चढाइएको भए पनि लामिछाने पक्षले तारेख मागेपछि सुनुवाइ रोकिएको हो।
उच्च अदालतले पहिले नै लामिछाने र जोशीको मुद्दा एउटै प्रकृतिको भएकाले एकैसाथ चलाउन आदेश दिइसकेको छ।
बिगो बुझाएर थुनामै रहँदै मुद्दा लड्न पाउने माग गर्दै दायर भएको निवेदन अध्ययनका क्रममा छ। लामिछानेले सहकारी ठगी मुद्दाबाट छुट पाउन जिल्ला अदालतमा पनि निवेदन दिएका थिए, तर न्यायाधीश नारायण सापकोटाले गत साउन २६ गते त्यसलाई अस्वीकार गरेका थिए।
सुप्रिम सहकारी ठगी प्रकरणमा प्रतिवादीहरूलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो तोकिएको छ। त्यसमा लामिछाने र जोशी दुवैले करिब २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत पेस गरेका छन्। तर व्यक्तिगत बिगो कति पर्ने भन्ने टुंगो नलागेकाले दुवैलाई रिहा नगर्ने निर्णय भएको हो।
अहिले दुवै पूर्पक्षका लागि कारागारमै छन्। लामिछाने नख्खु कारागारमा छन् भने जोशी भैरहवामै छन्।